ओली सरकारविरुद्ध सडकमा उत्रिए युवा !

काठमाडौँ/कोभिड–१९ रोकथाम र नियन्त्रणमा सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै राजधानीk काठमाडौं, पोखरा, विराटनगर, चितवन र जनकपुरमा बिहीबार व्यापक प्रदर्शन भएको छ । संक्रमण पहिचानका लागि पीसीआर परीक्षण बढाउन र खर्च पारदर्शी बनाउन माग गर्दै युवाले स्वस्फूर्त प्रदर्शन गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा ३ दिनयता सरकारविरोधी आन्दोलन भइरहेको छ ।
युवाले बिहीबार पनि त्यस क्षेत्रमा प्रदर्शन गरे । भाटभटेनी–बालुवाटार सडकमा बिहान पौने ११ बजेतिर हातमा प्लेकार्ड बोकेका युवा एकाएक उत्रिएका थिए । उनीहरू निषेधित क्षेत्रतर्फ अघि बढेपछि प्रहरीले भीड हटाउन खोजेको थियो ।
तर भीड बढ्दै सडक ढाकिएपछि प्रहरीले गाडीबाटै पानीको फोहोरा हान्यो । भीड तितरबितर नभएपछि ११ सेल अश्रुग्यास प्रहार गरिएको थियो । केहीलाई लाठी प्रहार गर्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । पानीको फोहोरा र लाठी प्रहारबाट केही घाइते भएका छन् ।
सरकारविरुद्ध चर्को नाराबाजीमा उत्रिएका उनीहरू २० देखि ३५ वर्ष उमेर समूहका थिए ।
‘केपी ओली सरकार असफल’, ‘समाधान लकडाउन होइन, अब पुग्यो’ जस्ता नारा लेखिएका प्लेकार्डसहित उनीहरू आएका थिए । युवा दिनहुँजसो प्रदर्शनमा उत्रन थालेपछि बालुवाटार क्षेत्रमा प्रहरी तैनाथी बढाइएको छ । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।