लकडाउनको अवधिमा आपराधिक घटनामा व्यापक कमी

काठमाण्डौ/कोरोना भाइरसको संभावित जोखिम कम गर्न सरकारले लागू गरेको देशव्यापी लकडाउनको करीव तीन महिने अवधिमा समाजमा आपराधिक घटनामा व्यापक कमी आएको छ ।

लामो समय घरमै थुनिएर बस्नुपर्दा, व्यवसाय सञ्चालन गर्न नपाउँदा, लकडाउनपछि जीवनयापन सहज हुने आशमा नागरिकहरु घरमा नै बस्दा आपराधिक घटनाहरुमा कमी आएको सुरक्षा निकायहरुको रिर्पोटले देखाएको छ ।
एकातिर रोगको डर र अर्कोतिर बन्दाबन्दीको अवस्थाले नागरिक हरुलाई आफ्नै सुरक्षामा बढी केन्द्रीत गरेका कारण आपराधिक घटनाहरु तुलनात्मक रुपमा कम भएको प्रहरी रेकर्डले देखाएको छ ।

समाज नै कोरोना केन्द्रीत भएका कारण समाजले अपराधबाट पनि लकडाउनकै अवधिभर भए पनि केही राहत महसुस गरेको पाइएको छ ।

सरकारले देशभर कोभिड–१९ महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका बेला ठूलो संख्यामा नागरिकले आत्महत्या गरे भन्ने समाचारहरु अफवाहपूर्ण रहेको तथ्य गृहमन्त्रालयको तथ्याङ्कले बाहिर ल्याएको छ ।
लकडाउन सुरु भएको ११ चैतदेखि १७ जेठसम्मको अवधिमा एक हजार एक सय पाँच जनाले आत्महत्या गरेको भन्ने प्रचारलाई गृह मन्त्रायको तथ्यांकले नै गलत साबित गरेको छ । लकडाउनको अवधिमा देशभर दैनिक १६ जनाभन्दा बढीले आत्महत्या गरेको भनी प्रहरी स्रोतको हवाला दिदै गरिएका प्रचारहरु मिथ्याङ्क भएको गृहमन्त्रालयको तथ्याङ्कले स्पष्ट पार्दछ ।

लकडाउनले नागरिकको दैनिकी, सामाजिक क्रियाकलापमा नै बन्देज लगाएको तथा मनोवैज्ञानिक रुपमा नागरिक पहिले आफू सुरक्षित हुने मनोविज्ञानमा केन्द्रीत भएकोले पनि मानिसलाई तुलनात्मक रुपमा कम अपराधमा सीमित गरेको तथ्यहरुले देखाएका छन् ।
कोरोना महामारीका बीच जारी लकडाउन, रोजगारी गुम्ने, व्यवसाय डुब्ने अवस्था, भविष्यको अनिश्चिता जस्ता कठिन परिस्थितिहरुबाट गुज्रदै गर्दा पनि नागरिक समाज तुलनात्मक रुपमा सभ्य र संयम देखिनुमा सुरक्षा निकायहरुको र खासगरी प्रहरीको गस्ती र निगरानीले पनि सकारात्मक भूमिका खेलेको देखिन्छ ।

समग्रतामा आपराधिक घटनाको कमी आउनुले एकातिर नागरिकमा सकारात्मक सोच, व्यवहारमा वृद्धि हुँदै गएको, सुरक्षाकर्मी र खासगरी नागरिकसँग पहिलो लाइनमा जोडिने सुरक्षा निकाय प्रहरीको भूमिका सक्रिय र फलदायी हुँदै गएको तथा कोरोना भाइरसको त्रासले मानिसको सोंचमा परिवर्तन ल्याएको तथ्यहरुले देखाएका छन् ।

निश्चय नै अपराधशून्य, आत्महत्या शून्य अवस्थामा नेपालको लकडाउन अवधि रहेको देखिएको होइन । समाजमा यस्तो अवस्थाको कल्पना शायदै गरिन्छ । तर तुलनात्मक रुपमा घटेका कम घटनाहरुले भने सकारात्मक संकेत गरेका छन् ।
हेर्नुहोस कसरी, कति संख्या र प्रतिशतमा कमी आयो आपराधिक घटनामाः झिल्को डट कम बाट