चितवन जिल्ला अदालतको आदेश : अनिल शर्मा बिरही थुनामुक्त !

सुर्य बराल, चितवन नेत्र बिक्रम चन्द नेतृत्वको प्रतिबन्दित नेकपाका नेता समेत रहेका साहित्यकार, कबि तथा रातो खबर पत्रिकाका निर्देशक अनिल शर्मा बिरही थुनामुक्त भएका छन् । चितवन जिल्ला अदालतले शर्मालाई साधरण तारिखमा आज थुनामुक्त गरेको हो । चितवन जिल्ला अदालतका १ नं.न्यायधीश हेमन्त रावलको एकल ईजलाशले शर्मालाई साधरण तारिखमा थुनामुक्त गर्न आदेश दिएका हुन् ।

शर्मा बिरुद्ध लगाईएको अभियोग पुष्टि हुन नसक्ने भन्दै अदालतले उनलाई सफाई दिएको हो । उनलाई चितवन प्रहरीले गत बैशाख २३ गते बिरामी अवस्थामा भरतपुरस्थित पुरानो मेडिकल कलेजबाट आफ्नो नियन्त्रणमा लिई राज्यबिरुद्धको अपराधमा मुद्धा चलाएको थियो । अदालतले शर्मा उपचारर्थ अस्पतालका सम्बन्धित चिकित्सकको परामर्श बिना अन्यत्र स्थान्तरण गर्न वा उपचारमा बाधा नपुर्याउन पनि प्रहरीलाई निर्देश गरेको छ । प्रहरीले शर्मालाई जनकपुरको एक घटनामा मुछी जनकपुर लैजाने तयारी गरेको थियो, तर अदालतको आदेशले प्रहरीको सम्भावित गैहन्यायिक कदममा ब्रेक लागेको छ । अलालतले प्रहरीलाई भरतपुरकै अस्पतालमा लगी उपचार गर्न आदेश समेत दिएको छ ।

शर्माको बिरुद्ध जिल्ला न्यायधिवक्ता यदुनाथ शर्माले बहस गरेका थिए भने शर्माको पक्षमा बरिष्ठ अधिवक्ता धर्मराज आचार्य, अधिवक्ताहरु कपिल चन्द्र पोख्रेल, कमल पाठक,गोपीलाल देवकोटा,राजकुमार श्रेष्ठ,रामचन्द्र देवकोटा, गंगा बहादुर कोईराला,नारायण गिरी,लक्ष्मण अधिकारी र सन्तोष कोईरालाले बहस गरेका थिए । शर्मालाई अदालतले श्रावण २१ गतेको तारिख समेत दिएको छ । अदालतको आदेशसँगै हाल उनी भरतपुर अस्पतालमै उपचारमा फर्किएका छन् ।

यसैबिच थुनामुक्त भएलगत्तै एक प्रेस बिज्ञप्ती जारी गर्दै शर्माले आफ्नो रिहाईको लागी अहोरात्र खट्ने अधिवक्ता, पत्रकार, डा. बाबुराम भट्टराई लगाएतका बिभिन्न राजनितीक दलका नेता कार्यकर्ता, प्रगतीशिल लेखक,मानबअधिकारवादी, सास्कृतीककर्मी, उधोगी, ब्यबसायी, अस्पताल परिवार, सुरक्षाकर्मी र शुभचिन्तकहरुलाई धन्यवाद दिएका छन् ।