‘ लिम्पियाधुरासहितको नक्सा छाप्ने निर्णय पार्टीको हो’: वामदेव गौतम

बुधबार, ०७ जेठ २०७७ /काठमाडौं/नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का उपाध्यक्ष वामदेव गौतमले लिम्पियाधुरासहितको नक्सा छाप्ने निर्णय पार्टीले गरेकाले कोही ब्यक्तिलाई देवत्वकरण नगर्न आग्रह गरेका छन् ।

बुधबार बिहान सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै गौतमले नक्सा सार्वजनिक गर्ने निर्णय पार्टीको संस्थागत निर्णय भएको स्मरण गर्दै सरकारलाई पार्टीले दिएको निर्देशनका आधारमा सरकारले नक्सा सार्वजनिक गरेकोले त्यसमा कुनै एउटा ब्यक्तिलाई मात्र केन्द्रीत गरी देवत्वकरण नगर्न भनेका हुन् । ‘अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ । तर, यो निर्णय पार्टीको सामूहिक निर्णय प्रक्रिया अनुसार भएको हो’ भन्दै गौतमाले ओलीका अनुयायीहरुलाई दह्रो झापड दिएका छन् ।
उनले अगाडी लेखेका छन्, यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यही अनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ । हामीले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुर्छ ।’ गौतमले स्टाटसमा लेखेका छन् । नेकपाको सचिवालय बैठकले जेठ २ गते लिम्पियाधुरासहितको नक्सा छाप्न सरकारलाई निर्देशन दिएको थियो । त्यही निर्देशन बमोजिम सरकारले नीति तथा कार्यक्रममा नक्सा छाप्ने कुरा समावेश गरेको गौतमले उल्लेख गरेका छन् ।

सचिवालय बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहितका नेताहरुले सरकारको नीति तथा कार्यक्रममै लिम्पियाधुरासम्मको भूमि नेपालको भएको र त्यही भूमि समेत समेटेर सरकारले नयाँ नक्सा जारी गर्ने कुरा उल्लेख गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । नीति तथा कार्यक्रम सार्वजनिक गर्नु पूर्व पार्टीले दिएको निर्देशनका आधारमा सरकारले उक्त कुरा नीति तथा कार्यक्रममा समेटेर ल्याएको थियो । उपाध्यक्ष गौतमले वर्तमान सरकारका अनेकन कार्य आलोचना योग्य हुँदाहुँदै पनि यो काम भने स्वागतयोग्य भएको बताएका छन् ।

उनले स्टाटसमा लेखेका छन्, ‘ऐतिहासिक तथ्य, प्रमाण र लिखतद्वारा निर्दिष्ट गरिएको आधारमा नेपाल सरकारले हाम्रो देशको नयाँ नक्सा सार्वजनिक गरेको छ । यसप्रति समस्त नेपाली जनसमुदाय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति आभारी छु’ उनले भनेका छन, ‘नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा मैले सुरुदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको म सबैमा स्मरण गराउन चाहन्छु ।’

गौतमले नक्सा सार्वजनिक पछि अझ बलियो प्रमाणका रुपमा आत्मसात् गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र उर्जा दिने पनि बताएका छन् । गौतमले अगाडी लेखेका छन्,–‘यसपटक पनि छुटेका नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा मैले नै राखेको यहाँहरु सबैमा जानकारी गराउँछु । वर्तमान सरकारका अनेकन कार्य आलोचनायोग्य हुँदाहुँदै पनि यो काम भने स्वागतयोग्य छ ।

किनभने, सिमाना व्यवस्थापनसँग सम्बन्धित हाम्रा ऐतिहासिक अभिलेखलाई यो नक्साले अझ बलियो प्रमाणका रुपमा आत्मसात् गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र उर्जा दिने काम भएको छ ।’ उनले लेखेका छन, ‘यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ । हामीले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ ।’