क्‍वारेन्टाइनमा भद्रगोल : सुत्‍न घर, शौच गर्न खेत

बाँके । क्वारेन्टाइन भनेको संक्रमण अवधिभर आशंकितलाई छुट्टै राखेर रोगको निदान गर्ने परीक्षण विधि हो । तर बाँके नरैनापुर गाउँपालिकाको क्वारेन्टाइन हेर्दा लाग्छ, यहाँ परीक्षण होइन, मानिसहरूलाई थुन्नका लागि राखिएको छ । यहाँ क्वारेन्टाइनमा पालना गर्नुपर्ने कुनै नियम पालना भएको छैन, जसले गर्दा संक्रमण नभएकालाई पनि संक्रमण हुने निश्चितजस्तै छ ।

क्वारेन्टाइनमा बसेकाहरूबीच सामाजिक दूरी पालना गरिएको छैन । भारतबाट आएका युवा एउटै कोठामा आठ जना कोचिएर बस्ने गरेका छन् । उनीहरू बिछ्यौना नभएको भन्दै सुत्न घरै पुग्छन् र बिहान लुसुक्क आइपुग्छन् । यस्तो बेथितिपूर्ण स्थानीय क्वारेन्टाइनमध्येको एक हो– नरैनापुर–४ स्थित फतिमा मदरसाको क्वारेन्टाइन । यहाँ २३ जनालाई तीनवटा कोठामा खाँदेर राखिएको छ । मदरसामा शौचालय नभएकाले शौच गर्न खेतबारीमा पुग्छन् क्वारेन्टाइनमा बसेकाहरू । कतिपय शौच गरेर घरतिर जान्छन् ।

जिल्लाका मानवअधिकारकर्मी र अधिवक्ताहरूको टोलीले सोमबार सातवटा क्वारेन्टाइनको अनुगमन गरेको थियो । सबै क्वारेन्टाइन मापदण्डअनुरूप नरहेको टोलीको निष्कर्ष छ । ‘क्वारेन्टाइनमा बसेकाहरू राति घरमै गएर सुत्ने गरेको समेत पाइयो,’ अनुगमनमा गएकामध्ये एक अधिवक्ता सुरेशकुमार गौतमले भने, ‘यस्तो तालले समुदायमै कोरोना संक्रमण फैलिएको पक्का छ ।’ टोलीका अनुसार क्वारेन्टाइनमा बस्ने सद्दे मान्छे पनि बिरामी हुने खतरा बढेर गएको छ । क्वारेन्टाइनमा सुत्ने, खाने, दिन बिताउने र मनोरन्जनका सामग्रीको अभाव मात्रै होइन, एउटै शौचालयमा भीड लगाएर जानुपर्ने बाध्यतासमेत रहेको गौतमले बताए ।

‘क्वारेन्टाइन व्यवस्थित नहुँदा भाग्नुपर्ने स्थितिसमेत आएको छ,’ उनले भने, ‘स्वास्थ्यकर्मी पनि समयमै जाँचका लागि पुग्दैनन्, यसले बिरामीमा थप नैराश्य थपिएको छ ।’ स्थानीय बासिन्दा क्वारेन्टाइनको लापरबाहीले आफूहरू पनि खतरामा परेको बताउँछन् । ‘क्वारेन्टाइनमा बसेकाहरू रातारात घर आउनेरजाने गर्छन्,’ स्थानीय रामानन्द शर्मा भन्छन्, ‘हामी गाउँका सबै जोखिममा छौं, अनुगमन गर्ने कोही छैन ।’ नरैनापुर–४ का वडाध्यक्ष दिनेशप्रसाद शर्मा शौचालय भए पनि क्वारेन्टाइनमा बस्नेले प्रयोग नगरेकाले समस्या थपिएको बताउँछन् । ‘क्वारेन्टाइनमा बसेकाहरू सुरक्षाकर्मीलाई टेर्दैनन्,’ उनले भने, ‘खेतमै शौचालय गर्ने बानी परेकाले लुकेर उतै जान्छन् ।’

क्वारेन्टाइनमा गएपछि झन् जोखिम
कपिलवस्तुको मायादेवी गाउँपालिका–३, बड्की खैराटीका सुनिल रैदासलाई स्थानीय क्वारेन्टाइनमा पेट दुख्ने, पखाला लाग्ने र ज्वरो आउने भएर छट्पटिएको १२ घण्टाभन्दा बढी भयो । सोमबार दिउँसोसम्म उनी नेपाल राष्ट्रिय प्रावि क्वारेन्टाइननजिक रहेको रुखमुनि सहयोगका लागि हारगुहार गरिरहेका थिए । ‘तर उनको चित्कार कसैले सुनेनन्,’ उक्त क्वारेन्टाइनमा बसिरहेका बुधराम रैदासले भने, ‘कसरी उसलाई सहारा दिउँ ।’ सुनील दिल्लीबाट आएका हुन् । त्यसैले कोभिड–१९ संक्रमणको त्रास छ ।

आइतबार बिहानदेखि बिरामी उनलाई अपराह्न एकपटक सदरमुकाम तौलिहवा ल्याइएको थियो । डाक्टरले टाढैबाट हेरेर औषधि लेखिदिए र आइतबार राति ११ बजे फर्किए । तर, उनी सोमबार फेरि थलिएका छन् । सुनीलका बाबु अपांग छन् । आमा छैनन् । तनावमा क्वारेन्टाइनमा बस्नु परिरहेको बुधरामले बताए । ‘क्वारेन्टाइनमा रहेका ६० जना उनलाई टुलुटुलु हेरेर बस्न बाध्य छौं,’ उनले भने । क्वारेन्टाइनमा स्वास्थ्यकर्मी छैनन् । त्यसैले उपचारका लागि सुनुवाइ गर्ने कोही छैन ।

कृष्णनगर नगरपालिका–३ को सिराजुल उलुम मदरसाको क्वारेन्टाइनमा बस्ने ४० जना खाना नपाएपछि शनिबार भागेर घर गए । उनीहरू गाउँ पुगेपछि त्रास फैलियो । गाउँलेले उनीहरूलाई सम्झाइबुझाइ गरेर क्वारेन्टाइनमै फर्काए । १० दिनसम्म बसिसकेका उनीहरू क्वारेन्टाइनको अवस्थाले दिक्क बनाएपछि भागेका हुन्, जहाँ चार कोठामा ४५ जना बस्नु पथ्र्यो, बसिरहेका छन् । त्यस क्वारेन्टाइनको एउटा कोठामा आठ जनाको दुई परिवार छ । एउटा कोठामा १०र११ जना बसेका छन् । ‘गर्मी उधुम छ,’ त्यहाँ बसिरहेका अनवल अलीले भने, ‘साना नानीहरू रातभरि सुत्दैनन् । बत्ती छैन । एउटा शौचालय छ । त्यसमा महिला र बालबालिका जान्छन् । अरू पुरुषलाई शौचालय छैन ।’

उनका अनुसार पुरुष खेतमा जान्छन् । ‘क्वारेन्टाइनमा बसेका व्यक्ति बाहिर जानु राम्रो मानिँदैन,’ स्थानीय मन्नान धुनियाले भने, ‘उनीहरू दिसापिसाब गर्न बाहिर जान्छन् । उतै गफ चुटेर बस्छन् ।’ उनीहरूलाई नगरपालिकाले बेवास्ता गरेको छ । खाना र खाजा मात्रै होइन, बिस्तारा पनि दिएको छैन । भएको एक सुरक्षाकर्मी पनि फिर्ता भएका छन् । अहिले उनीहरू निस्फिक्री छन् । घर आउआउ गर्छन् ।

सबैले आआफ्नो घरबाट ल्याएको खाना खाइरहेका छन् । खाजा पनि घरैबाट लैजान्छन् । यहाँका ९० प्रतिशत क्वारेन्टाइन सरकारले बनाएको मापदण्डअनुसार छैनन् । अधिकांश घनाबस्तीमा छन् । विद्यालयका साँघुरा र अँध्यारा कोठमा छन् । बिजुली छैन । सीमित धारा र ह्यान्ड पम्प छन् । ४र५ कोठाका लागि एउटा शौचालय छ । यो खबर आजको कान्तिपुरमा छ ।