अपि-नाम्पा संरक्षित क्षेत्रमा खटिन तयार छौं:सेना

काठमाडौँ/नेपाली सेनाले भारतीय पक्षबाट अतिक्रमणमा परेका दार्चुलाका कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभागसमेत समेटिएको ‘अपि–नाम्पा संरक्षित क्षेत्र’ मा तैनाथ हुने गरी आन्तरिक तयारी थालेको छ । दार्चुलास्थित नेपाली भूमिमा सडक खनेपछि सेनाले अपि–नाम्पा सुरक्षार्थ खटिने गरी गृहकार्य थालेको हो ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले सरकारले आदेश दिए आफूहरू त्यस क्षेत्रमा परिचालन हुन तयार रहेको बताए । ‘राष्ट्रिय निकुञ्जलगायत क्षेत्रको सुरक्षामा अहिले पनि हामी तैनाथ छौं, सरकारले आदेश दिए चीन र भारतसँग सीमा जोडिएको अपि–नाम्पा संरक्षित क्षेत्र सुरक्षामा पनि खटिन तयार छौं,’

पाण्डेले कान्तिपुरसँग भने, ‘यदि त्यस क्षेत्रमा सेनाको टोलीलाई परिचालन गर्न सकिए सीमा सुरक्षादेखि जंगललगायत प्राकृतिक स्रोतसाधन र वन्यजन्तु तस्करी नियन्त्रणमा मद्दत पुग्ने हाम्रो पनि धारणा हो ।’ यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।