कोराना भाईरसको कारण सस्तिँदै नेपाली मुद्रा

काठमाडौं /कोरोना भाइरसको महामारी सुरु भएयता नेपाली मुद्रा अधिकांश परिवर्त्य विदेशी पैसाको तुलनामा तीव्र दरमा सस्तिएको छ। पछिल्लो १० हप्तामा अमेरिकी डलर ७ रुपैयाँ ८२ पैसा महँगिएको छ।

बिहीबार ग्रिनब्याक भनिने अमेरिकी मुद्राको भाउ नेपाल राष्ट्र बैंकले नै १२२ रुपैयाँ ५० पैसा तोकेको छ। यो हालसम्मकै सबैभन्दा महँगो दर हो।यद्यपि, प्रतिशतको हिसाबले नेपालमा सटही सुविधा भएका मुद्रामध्ये डलरभन्दा पनि हङकङ, जापान र यूएईको मुद्रा ज्यादा महँगिएको छ। गत ३१ जनवरीको मूल्यलाई आधार मान्दा बिहीबारसम्म हङकङ डलर ७.०५ प्रतिशत महँगिएको छ।जापानी येन पनि ६.८४ प्रतिशत महँगिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। यूएई दिह्राम भने डलरकै हाराहारी अर्थात् ६.८२ प्रतिशत महँगिएको छ। बहराइन दिनार, कतारी रियाल, स्विस फ्र्यांक र साउदी अरेबियन रियाल पनि ६ प्रतिशतभन्दा धेरै महँगिएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा विनय बञ्जाराले लेखेका छन् ।