Breaking News

बजारमा कालाबजारी गरेमा कारबाही गर्ने चेतावनी।

भरतपुर/जिल्ला प्रशासन कार्यालय चितवनले बजारमा समान लुकाउने, बढी मूल्यमा बिक्री गर्ने तथा स्टक सकिएको भन्दै म्याद नाघेको सामान बिक्री गर्ने लगायतका कार्य गरी कालाबजारी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।
चितवनको बजारमा कालाबजारी बढेको सूचना पाएको भन्दै जिल्ला प्रशासन कार्यालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जरुरी सूचना निकालेर चितवन प्रशासनले यस्ता गैरकानूनी काम गर्नेलाई कारबाहीको दायरामा ल्याउने स्पष्ट पारेको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनले बजारमा हुन सक्ने सम्भावित गैरकानूनी कार्य नियन्त्रण गर्नका लागि आन्तरिक नियन्त्रण प्रणालीलाई थप प्रभावकारी बनाउन उद्योग वाणिज्य संघलगायत बजार सम्बद्ध संस्थाहरुलाई समेत आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जारी गरेको जरुरी सूचनामा सर्वसाधारणलाई आफूलाई चाहने भन्दा बढी सामान खरिद गरी संचित नगर्न र बिक्रेतालाई पनि ग्राहकलाई आवश्यकता भन्दा बढी सामान बिक्री नगर्न आग्रह गरिएको छ । साथै कसैले बढी सामान खरिद गरी भण्डारण गरेको वा म्याद सकिएको सामान बिक्री गरेको भेटेमा खबर गर्न प्रशासनले आग्रह गरेको छ ।
प्रशासनले कोरोना भाइरसको संक्रमण हुन नदिन अन्तर्राष्ट्रिय स्तरमा मानिसहरुको आवागमनलाई थप नियमन गरिएको उल्लेख गरेको छ । तर बस्तु तथा सेवाको आयात, निर्यातमा कुनै परिमाणत्मक बन्देज नलगाइएको स्पष्ट पार्दै निकट भविष्यमा समेत आयात, निर्यात तथा सेवाको उपलब्धतामा कमी हुन नदिइने प्रशासनले उल्लेख गरेको छ ।