घुस खाएर भाग्दै गरेका वन प्रमुख घुस रकमसहित पक्राउ

काठमाडौं, ३०, फागुण। डिभिजन वन कार्यालय दोलखाकी प्रमुख सन्तमाया श्रेष्ठलाई सेवाग्राहीसँग लिएको घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । घुस रकम लिएर भाग्दै गरेको अवस्थामा भक्तपुरको गठ्ठाघरबाट उनलाई गत बिहीबार पक्राउ गरिएको हो ।
एक सेवाग्राहीसँग घुस लिएर दोलखाबाट फरार भएको खबर आएपछि उनलाई निगरानीमा राखेको अख्तियारको टोलीले भक्तपुरको गठ्ठाघरमा गाडी र घुस रकमसहित पक्राउ गरेको हो । उनको साथबाट २ लाख ४ हजार नगद समेत बरामद गरेको अख्तियारका एक अनुसन्धान अधिकृतले जानकारी दिए । आज बिहीबार साँझ ६ बजेतिर श्रेष्ठलाई गठ्ठाघरमा उनी चढेको गाडी नियन्त्रणमा लिएर उनको साथमा रहेको रकम बरामद गरेको उनले जानकारी दिए ।
अख्तियारको टोलीले ६ बजे उनलाई नियन्त्रणमा लिएर उनको साथमा रहेको सबै सामानको मुचुल्का समेत उठाएको थियो । उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गर्ने अखित्यारले जनाएको छ ।