कोरोना त्रासदी लम्बिए आर्थिक वृद्धि पाँच प्रतिशतभन्दा तल

कोरोना त्रासदी लम्बिए आर्थिक वृद्धि पाँच प्रतिशतभन्दा तल: पूर्वअर्थसचिवद्वय शान्तराज सुवेदी,राजन खनाल

काठमाडौं/चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्रमा देखापरेको असरले नेपालको आर्थिक वृद्धिदर पनि थप खस्कने देखिएको छ।

कोरोना भाइरस अहिलेसम्म ७० भन्दा बढी मुलुकमा फैलिएको छ। अर्थतन्त्रबारे अध्ययन–अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय निकायहरुले कोरोना भाइरसका कारण यो वर्ष विश्व अर्थतन्त्रमा करिब १.५ प्रतिशत विन्दुले कमी आउने अनुमान गरेका छन्। नेपालको अर्थतन्त्रको आकार सानो छ। तर कोरोनाबाट अतिप्रभावित चीनलगायत अन्य मुलुकसँगको व्यापारिक, आर्थिक र सामाजिक सम्बन्धका कारण नेपालको आर्थिक वृद्धिदरमा पनि असर पर्ने भएको हो।

चालु आर्थिक वर्षमा साढे आठ प्रतिशत आर्थिक वृद्धिको सरकारी लक्ष्य छ। सरकारले सोचेजस्तो आर्थिक गतिविधि नबढेका कारण वृद्धिदर ६ प्रतिशत हाराहारीमा खुम्चिने अनुमान यसअघि नै गरिएको छ। कोरोनाका कारण गैरकृषि क्षेत्रमा पर्ने प्रभावले आर्थिक वृद्धिमा थप शंकुचन आउने देखिएको हो। नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा गैरकृषि क्षेत्रको अंश ७३ प्रतिशत छ।

अर्थ मन्त्रालयका अधिकारी यो समस्या लम्बिए आर्थिक वृद्धि पाँच प्रतिशतभन्दा तल पुग्ने अनुमान गर्छन्। यो वर्ष कृषि क्षेत्रमा सबैभन्दा ठूलो हिस्सा रहेको धान उत्पादन घटेको छ। अन्य मौसमी कृषि उत्पादन पनि धेरै बढ्न नसकेको अवस्था छ। यस्तो अवस्थामा कोरोना समस्या लम्बिदै गए गैरकृषि क्षेत्रमा हुने गडबडीले आर्थिक वृद्धि पाँच प्रतिशतभन्दा तल हुने दाबी उनीहरुको छ।

कोरोना भाइरसका कारण विभिन्न क्षेत्रमा प्रभाव परेकाले यसबाट मुलुकको आर्थिक वृद्धिदरमा पनि असर पर्ने देखिन्छ। शान्तराज सुवेदी, पूर्वअर्थसचिव
केन्द्रीय तथ्यांक विभागका निर्देशक ईश्वरी भण्डारीले कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा थप असर पर्न थालिसकेको जानकारी दिए। ‘अहिले सुरुमा पर्यटक आगमन र यातायातमा असर देखिएको छ। होटल सुनसान छन्,’ निर्देशक भण्डारीले भने, ‘यसले हाम्रो सेवा क्षेत्रमा असर पर्न थालिसकेको छ।’ भण्डारीका अनुसार कोरोनाका कारण सेवा क्षेत्रको हाम्रो लक्षित प्रगति हासिल हुनेमा शंका उत्पन्न भएको छ। ‘कोरोना समस्या विश्वभर कति समयसम्म रहन्छ, असर पनि सोही अनुसार हुनेछ,’ भण्डारीले भने, ‘विश्व अर्थतन्त्रमा आएको असरबाट हामी अछुतो हुन सक्दैनौं तर मात्रा फरक पर्नेछ।’

कोरोनाको प्रत्यक्ष असर कृषिबाहेक सबै क्षेत्रमा कमबेसी पर्न सुरु गरिसकेको छ। अहिलेसम्म कोरोनाले सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा देखिएको छ। जनवरीमा २ प्रतिशतभन्दा बढीले पर्यटक घटेका छन्। यो तथ्यांक फेब्रुअरीमा झनै घटेको छ। अहिले मुलुकका प्रमुख पर्यटकीय क्षेत्र सुनसान छन्। स्तरीय होटलको अकुपेन्सीदरमा ८० प्रतिशतसम्म कमी आएको छ। चितवन सौराहाका कतिपय होटलले पर्यटक नआएपछि कर्मचारीलाई बिदा दिएका छन्। कतिपय वायुसेवा कम्पनीले उडानतालिका कटौती गरेका छन्। सरकारले कोरोना बढी प्रभावित जापान, कोरिया, इटाली, इरानजस्ता मुलुकका नागरिकलाई आगमन भिसा नदिने भनेको छ। नेपालीलाई पनि अतिआवश्यकबाहेक स्थानमा वैदेशिक भ्रमणमा नजान भनेको छ। सरकारले चीनसँगका सबै व्यापारिक नाका बन्द गरेको छ। चीनसँगको आयातनिर्यात पनि ठप्प छ।
रेमिटेन्स आउने जापान, कोरिया र कतिपय खाडी मुलुकमा कोरोना असर देखिएको छ। त्यसको असर नेपालको अर्थतन्त्रमा पनि पर्छ। राजन खनाल, पूर्वअर्थसचिव
पर्यटन क्षेत्रका यस्ता सबै गतिविधिले यो क्षेत्रको लक्षित वृद्धिमा असर पु¥याएको हो। पछिल्लो समय कुल गार्हस्थ उत्पादन (जिडिपी) मा पर्यटन क्षेत्रको हिस्सा बढदै गएको छ।

कोरोना भाइरसले विश्वसँगै नेपालको आर्थिक वृद्धिदर घट्नेमा पूर्वअर्थसचिव पनि सहमत छन्। पूर्वअर्थसचिव शान्तराज सुवेदीले कोरोनाका कारण विभिन्न क्षेत्रमा प्रभाव परेको र यसले आर्थिक वृद्धिदरमा पनि असर गर्ने बताए। ‘नेपालमा आर्थिक वर्षको ६ महिना (पुस) पछि मात्र सबै क्षेत्रमा गतिविधि बढ्छ,’ सुवेदीले भने, ‘तर यही अवधिमा समस्या आएपछि यसको प्रभाव आर्थिक वृद्धिदरमा देखिनेछ।’

अर्कोतिर यही वर्षदेखि मुलुकमा १५औं पञ्चवर्षीय योजना सुरु भएको छ। आधार वर्षका रुपमा हेरिएको यही वर्षमा समस्या देखिएपछि लक्ष्य प्राप्तिमा पनि समस्या हुनेछ।

अर्का पूर्वअर्थसचिव राजन खनाल पर्यटनसँगै रेमिटेन्स आयमा पनि कोरोनाले ठूलो प्रभाव पार्ने बताउँछन्। नेपालमा रेमिटेन्स आउने जापान, कोरिया र कतिपय खाडी मुलुकमा कोरोना देखिएको छ,’ खनालले भने, ‘ती मुलुकमा थप कामदार जान रोकिएपछि रेमिटेन्स आयमा प्रभाव पार्नेछ।’

चालु आवमा रेमिटेन्स आयको वृद्धिदर अघिल्ला वर्षमा जस्तै बढ्न सकेको छैन। रेमिटेन्स आय सुस्त भएका बेला कोरोनाले अर्थतन्त्रका पार्ने प्रभावले मुलुक थप जटिल मोडमा पुग्नेछ। पूर्वअर्थसचिव खनालले कोरोना समस्याले उपभोगको तौरतरिकामा पनि असर गर्ने जानकारी दिए। ‘कोरोनाबाट बच्न आवश्यक वस्तु खरिद गर्दा अर्को वस्तु किन्न नसक्ने अवस्था आउँछ,’ उनले भने, ‘यसले अहिलेको व्यापारिक चक्रलाई प्रभाव पार्छ।’

कोरोनाले तत्काल देखिएको अर्को ठूलो समस्या आयोजनामा कामदार अभाव हुनु हो। नेपाली व्यवसायीका अनुसार अहिले चिनियाँ ठेकेदारले निर्माण गरिरहेका ठूला आयोजनामा कामदार अभाव भइसकेको छ। चिनियाँ ठेकेदारले प्राविधिक कामदार चीनबाट ल्याउँछन्। अहिले खासगरी चिनियाँ ठेकेदारले निर्माण गरिरहेका खिम्ती २, लामटाङ हाइड्रो, रसुवागढीलगायत जलस्रोत आयोजना निर्माणमा प्रभाव परेको छ।

मुलुकमा यो वर्ष सुस्त रहेको औद्योगिक क्षेत्रमा पनि कोरोनाले प्रभाव पार्न सुरु गरेको छ। नेपालका अधिक उद्योगको उत्पादन अहिले क्षमताको आधाआधी मात्र छ। उत्पादित सामान पनि बिक्री नभएको अवस्था छ। व्यवसायीका अनुसार यी उद्योगका लागि चीनलगायत तेस्रो मुलुकबाट ल्याइने कच्चा पदार्थको आपूर्तिमा समस्या देखिइसकेको छ। चीनको कच्चा पदार्थमा निर्भर रहेका कतिपय उद्योगी बढी समस्यामा परेका छन्। हाम्रो सबैभन्दा ठूलो व्यापारिक साझेदार भारतमा यो भाइरसले महामारी रुप नलिएका कारण उद्योग धरासायी हुनबाट बचेका छन्।

बजारमा अहिले चिनियाँ सामान अभाव हुन थालेको छ। भाउ पनि बढ्न थालेको छ। सस्ता चिनियाँ सामान नपाउँदा तल्लो वर्गका नेपाली उपभोक्ता मारमा पर्न थालेका छन्।

व्यापारिक गतिविधिमा आएको कमी र उपभोगमा आउने परिवर्तनले मुलुकको राजस्व संकलनमा पनि प्रभाव पार्नेछ। यो वर्ष सुरुदेखि नै आयात घटेको छ। चीनलगायत कतिपय मुलुकमा अब सामान पठाउन पनि समस्या सुरु भएको छ। वैदेशिक व्यापारमा आएको कमीले राजस्व संकलनमा असर पार्नेछ। त्यसै पनि सरकारको यो वर्ष राजस्व असुली राम्रो छैन। व्यापारमा आएको असन्तुलनले निम्ताउने मुल्यवृद्धि नियन्त्रणमा सरकारलाई समस्या हुनेछ। नागरिक दैनिकबाट