कोरोनाभाइरस:अमेरिकामा छ जनाको मृत्यु

                                                                                       

 

                                                                      तस्विर : रोयटर्स

संयुक्त राज्य अमेरिकाको वासिङ्टनमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ यसको संक्रमणबाट मर्नेको सङ्ख्या ६ पुगेको छ ।कोभिड–१९ बाट अमेरिकामा ज्यान गुमाउने यी पहिलो केसहरु हुन् । संक्रमण फैलिएपछि वासिङ्टनले राज्यमा आपत्कालको घोषणा गरिसकेको छ ।

ज्यना गुमाउने ६ मध्ये पाँच जना किङ्ग काउन्टीका रहेका छन् । सो क्षेत्रमा हालसम्म १८ जनामा यस रोगको संक्रमण देखिएको छ । यसको संक्रमण अझै फैलन सक्ने त्रास फैलिएको छ ।वासिङ्टनमा भएका पहिलो दुई मृत्युको अनुसन्धान गरिरहेका विज्ञहरुले हप्तौँदेखि भाइरस फैलिरहेको हुनसक्ने र यसबाट १५ सयभन्दा बढी प्रभावित भइरसकेको हुनुपर्ने अनुमान गरेका छन् ।

वासिङ्टनको स्वास्थ्य अधिकारी केथी लोफीका अनुसार अहिले वासिङ्टनका दुई काउन्टी किङ र स्नोहोमिसमा भाइरसको संक्रमण ‘सक्रिय’ रुपमा फैलिरहेको देखिएको छ । अन्य ठाउँमा पनि भाइरसको संक्रमण फैलिरहेको हुनसक्ने उनले बताएकी छन् । किङ्ग काउन्टीमा देखिएका १४ मध्ये ८ र चार मृत्यु एउटा केयर सेन्टरसँग सम्बध रहेको छ । मृत्यु हुने सबै बृद्ध र पहिल्यै स्वास्थमा समस्या रहेकाहरु छन् ।

कोरोनाभाइरसको संक्रमण भएका रोगीहरुलाई आइसोलेसनमा राख्न त्यहाँ एउटा होटल नै किन्ने तयारी भइरहेको छ । यो हप्ता अमेरिकामा तीव्र रुपमा कोरोनाभाइरसका रोगीहरुको सङ्ख्या बढेको छ । अहिलेसम्म देशमा आधिकारिकरुपमा ९१ जनामा यसको संक्रमण देखिएको छ ।

वासिङ्टन, क्यालिफोर्निया र ओरेगनमा कोरानाप्रभावित क्षेत्रमा यात्रा नगरेका र त्यस्तो क्षेत्रमा यात्रा गरेर आएकाहरुसँग सम्पर्कमा नरहेकामा पनि कोरोनाभाइरसको संक्रमण देखिएपछि स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

सोमबार के–के भयो अमेरिकामा ?

– न्यूयोर्क गभर्नर एन्ड्रयु क्युमोले राज्यमा पहिलो कोरोनाभाइरस संक्रमित फेला परेको बताए । उनका अनुसार इरानबाट फर्किएकी ३९ वर्षीया स्वास्थ्यकर्मीमा यसको संक्रमण देखिएको हो । उनको पतिलाई पनि जाँच गरिदैछ ।

– फ्लोरिडामा इटालीबाट फर्किएका ६० वर्षीय पुरुष र २० वर्षीया युवतीमा यसको संक्रमण देखिएको छ ।

– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा औषधी निर्माता कम्पनीहरुसँग भेटेर यसविरुद्धको खोपको बारेमा छलफल गरे ।