जनयुद्धका शहीदका छोराद्धारा प्रचण्डमाथि जुत्ता प्रहार

काठमाडौँ /दश बर्षे जनयुद्धका सर्बोच्च कमाण्डर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजित एक सार्बजनिक कार्यक्रममा एक युवाले जुत्ता प्रहार गरेका छन्।

काठमाण्डौं प्रहरीका अनुसार प्रचण्डलाई जुत्ता प्रहार गर्ने ब्यक्ति जुम्ला घर भएका रतन तिरुवा हुन् । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सञ्चालित १० बर्षे जनयुद्धका शहिदको छोरा रहेका तिरुवाले प्रचण्डमाथी आक्रोशित भई जुत्ता प्रहार गरेका हुन् । उनका बुवा मोहन तिरुवाले १० वर्षे शसस्त्र जनयुद्धमा आफ्नो जीवन बलिदान गरेका थिए ।
आइतबार नेकपाका दिवंगत नेता भरत मोहन अधिकारीको स्मृतिमा काठमाडौँको राष्ट्रियसभागृहमा आयोजीत सभामा प्रचण्डमाथि जुत्ता प्रहार गरेपछि प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएको थियो । प्रहरीसँगको बयानमा तिरुवाले प्रचण्डले गरेको भाषण आफुलाई चित्त नबुझेपछि जुत्ता प्रहार गरेको बयान दिएका छन् । प्रचण्डले गरेको बर्गसंघर्षको कुरा आफुलाई मन नपरेकोले जुत्ता प्रहार गरेको उनले प्रहरीसँगको बयानमा बताएका छन्। नेपालगन्जमा अमीन पढेका तिरुवा काठमाडौँमा लोकसेवाको तयारी गरिरहेका थिए ।

शसस्त्र जनयुद्धको नेतृत्व गरेका प्रचण्ड बाबुरामहरुले क्रान्तिको सपना देखाएर उही पुरानै संसदीय ब्यवस्थामा ब्यक्तिगत मोजमस्ती र परिवारबादमा फस्दै भ्रष्ट्र्चारमा चुर्लुम्म डुबेकाले पनि शहिद परिवार आक्रोशित भएको हुनसक्ने जानकारहरु बताँउछन् । प्रचण्डलाई जुत्ता प्रहार गरिएको घटना आज आइतबार सामाजिक संजाल तथा न्युज पोर्टलमा निकै भाइरल बनिरहेको छ ।