चितवनमा कानूनी तथा मनो–सामाजिक निःशुल्क परामर्श सेवा सञ्चालनमा


चितवन/माघ ३/जिल्ला प्रहरी कार्यालय चितवनभित्र लागुऔषधको प्रयोग, रोकथाम र नियन्त्रणका लागि कानूनी तथा मनो–सामाजिक निःशुल्क परामर्श केन्द्र शुरु भएको छ । केन्द्रको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज संयुुक्तरुपमा उद्घाटन गरेका हुन ।

नेपाल प्रहरीको सामुदायिक प्रहरी कार्यक्रमअन्तर्गत यो केन्द्र स्थापना गरिएको हो । बढ्दो लागुऔषधको प्रयोगलाई रोकथाम गर्न केन्द्रले काम गर्नेछ । लागुऔषध मुद्दामा पक्राउ परेकालाई यस केन्द्रमा निःशुल्क परामर्श दिई यसको नकारात्मक असरबारे अध्ययन गराइनेछ । केन्द्रको सञ्चालन गर्न भरतपुर महानगर र नेपाल प्रहरीबीच सम्झौता भएको छ ।
कार्यक्रममा महानगर प्रमुख दाहालले लागुऔषध विश्वका लागि चुनौतीपूर्ण बन्दै गएकाले यसलाई रोक्न समुदायस्तरमा नै सचेतना जगाउनु अहिलेको आवश्यकता हो भने। चितवन देशकै मध्यभागमा रहेकाले यस्तो केन्द्रको आवश्यकता रहेको भन्दै उहाँले यसबारे जनचेतना फैल्याउन पाठ्यक्रममा पनि समावेश गर्नुपर्नेमा जोड दिए।

प्रहरी महानिरीक्षक खनालले लागुऔषधको माग घटाउन समुदायस्तरमा नै सचेतना आवश्यक रहेको बताए । उनले भने, “लागुऔषध प्रयोगकर्ता र ओसारपसार गर्नेको सङ्ख्या घटाउन समुदाय र विद्यालयस्तरबाटै अगाडि बढ्नुपर्छ ।”

लागुऔषध ब्यूरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामाले दुव्र्यसनीमा फसेकाहरु नयाँ जीवन दिन केन्द्रले विज्ञहरुको उपस्थितिमा परामर्श दिने बताए । लागुऔषधले अपराधको ठूलो हिस्सा ओगटेको भन्दै उनले यसलाई रोक्न अभिभावकसमेत सचेत हुनुपर्नेमा जोड दिए। अप्राकृतिक रुपमा हुने मृत्युमा ८० प्रतिशत लागुऔषधको कारण भएको उनको भनाइ थियो । कार्यक्रममा चितवनका प्रजिअ नारायणप्रसाद भट्टराई र प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतलगाएतको कार्यक्रममा उपस्थिति रहेको थियो।