दिलीप हत्याकाण्ड प्रक्ररण : टिपरले किच्नुअघि नै रडले कोखा छेडिएको थियो ।

धनुषा । मिथिला नगरपालिका वडा नं ५ श्रीपुरस्थित दिलीपकुमार महतोको घरमा यतिबेला सन्नाटा छाएको छ । उनका परिवारमात्र होइन, सिंगो गाउँ नै शोकमा डुबेको छ ।दिलीप जो गाउँलाई नै बाढीबाट जोगाउन चाहन्थे, त्यसैले त उनले गाउँमा भएको अवैध ढुंगा गिटी बालुव दोहनको विरुद्धमा जागे । रातको समयमा अवैध उत्खनन् भएको थाहा पाएपछि दिलीप त्यो रोक्न दोहनस्थलमा पुगे । दोहन रोक्ने क्रममा टिपरले किचेर उनको हत्या गरियो ।

यतिबेला २४ वर्षीय दिलीपकुमार महतोलाई टिपरले किच्नुअघि नै हत्या गरिएको आशंका प्रहरीले गरेको छ। टिपरले किच्नुअघि नै दिलीपको कोखा छेडिएको थियो । प्रहरीको भनाइअनुसार प्रारम्भिक अनुसन्धानमा महतोलाई टिपरले किच्नुअघि नै छातीको दायाँ कोखामा गहिरो चोट देखिएको छ।धनुषा प्रहरीले शनिबार साँझ पत्रकार सम्मेलन गरी महतोलाई टिपरले किच्नुअघि नै कोखा छेडर हत्या गरिएको हुन सक्ने बताइएके छ । ना७ख ६४१३ नम्बरको टिपरले किच्नुअघि कोखामा घोचेको घाउ फेला परेको प्रहरीको भनाइ छ ।प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार टिपरको लिभरले छेडेपछि उनलाई सुताएर किचेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । पोस्टमार्टम रिपोर्ट आइसकेपछि यसबारे पूर्णरूपमा बताउन सकिने प्रहरीको भनाइ छ ।

पत्रकार हत्यामा संलग्न आरोपमा पक्राउ परेका धनुषाका मिथिला नगरपालिका ५ का २७ वर्षीय क्रसर सञ्चालक विपीनकुमार महतो, वडा नम्बर ९ का ३४ वर्षीय टिपर चालक मुनिन्द्र महतो, महोत्तरी बर्दिवास नगरपालिका वडा नम्बर २ का लोडर चालक जितेन्द्रकुमार महतो र मिथिला वडा नम्बर ५ का रोशन यादवलाई सार्वजनिक गरेको छ।

दिलिप महतोले अवैध रुपमा खोला तथा नदीमा क्रसर उद्योगीले गर्दै आएको दोहनको विरोध गर्दै आएका थिए । त्यसैले क्रसर उद्योगी विपिन महतोले तीन दिनअघि दिलिपलाई हत्या गर्ने धम्की दिएका थिए । दिलिपको हत्यापछि परिवारका सदस्यहरुले प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

प्रहरीले क्रसर उद्योगी विपिनलाई शनिबार बिहान उनको ससुराली गाउँबाट पक्राउ गरेको थियो । प्रहरीले हत्यामा संलग्नलाई उन्मुक्ति नदिने प्रतिबद्धता जनाएपछि शनिबारै परिवारका सदस्यहरुले दिलिपको शव बुझेका थिए । शनिबार साँझ पोष्टमार्टम गरी दिलीपको शव परिवारजनलाई बुझाइएको धनुषाका प्रहरी प्रमुख एसपी बस्नेतले जानकारी दिए ।  कान्तिपुरबाट