Breaking News

चेलीबेटी बेचबिखनमा आफन्तकै हात


काठमाडौं । अवरुद्ध घाँटी अनि आँखामा टिलपिल आँसु। नुवाकोटकी २१ वर्षीय रानू मगर ९नाम परिवर्तन० लाई पीडा पोख्न गाह्रो भइरहेको थियो। भारतको कोठीमा ६ वर्ष बिताएको त्यो क्षण बयान गर्न उनी ठूलो हिम्मत जुटाउँदै थिइन्। मुखबाट शब्द फुट्न नपाउँदै रानू भक्कानिन्थिन्। अनि घरिघरि भनिरहन्थिन्, ‘मैले जस्तो पीडा कुनै चेलीले भोग्न नपरोस्।’

आफ्नै काका–काकीले उनलाई भारतको कोठीमा पुर्‍याएका थिए। त्यतिबेला उनी मात्र १५ वर्षकी थिइन्। उमेर सानो भएकाले हर्मोन परिवर्तन गर्ने इन्जिेक्सन लगाएर वयस्क बनाइयो। काठमाडौंमा हुँदा उनी होटलमा भाँडा माझ्ने काम गर्थिन्। चप्पल कारखानामा काम लगाइदिने भन्दै उनलाई भारत पुर्‍याइएको थियो। रानूले भारतका भिन्दाभिन्दै कोठीमा शोषण सहेर बस्नु पर्‍यो। बेचिएपछि रानूले धेरैपटक भाग्ने प्रयास गरिन्। ‘हरेक दिनको कुटाइ र पीडा सहन गाह्रो हुथ्यो’, उनले भनिन्।

उद्धारका लागि आएका दाजुभाइ, बेचिएका अन्य महिलाले पनि धेरैपटक भाग्न सुझाए। तर भागेर कहाँ जाने रु कसलाई गुहार माग्ने रु रानुलाई केही थाहा थिएन। भाग्न खोज्दा कोठीकै मान्छेले कुट्थे। रानू एक साथीलाई थला पर्ने गरी कुटेको सम्झन्छिन्। निरन्तरको कुटाइले किशोरीहरू मानसिक पीडामा हुन्थे। डर र त्रासमा बाँच्थे। सधैं असह्य पीडा दिन थालेपछि रानूले भाग्ने विचार नै त्यागिन् र कोठीको अँध्यारो कोठालाई नै संसार मान्न थालिन्।

केही महिनाअघि माइती नेपालले रानूलाई उद्धार गरी नेपाल फर्काएको छ। कोठीबाट फिर्ता भए पनि उनलाई समाजको सामना गर्न सजिलो छैन। चरित्रप्रति आंैला ठड्याउने चिन्ता छ उनलाई। समाजले लगाउने लान्छना कोठीमा बिताएको रातभन्दा पनि भयानक ठान्छिन् उनी। उनी सुनाउँछिन्, ‘आफन्त भनेर विश्वास गर्न नहुने रहेछ। आफ्नैले भारतको कोठीसम्म पुगें।’ नेपाल आइपुग्दा उनले नेपाली भाषा नै बोल्न सकेकी थिइनन्। उनैको उजुरीको आधारमा डेढ महिनाअघि उनका काका र काकी कारबाहीमा परिसके।

मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलको २०७५ कात्तिक ११ गते देखि ०७६ मंसिर १६ गतेसम्मको तथ्यांकमा २ सय ७२ जनालाई विभिन्न मुलुकबाट उद्धार गरिएको छ। जसमा महिला २ सय ६ र पुरुष ६६ जना छन्। नेपाली महिला भारतीय यौनबजारमा बढी पुगेका छन्। २६ प्रतिशत पीडित १८ वर्षभन्दा कम छन्। राष्ट्रिय मानव अधिकार आयोगको ०७६ को प्रतिवेदनले हरेक वर्ष १ हजार महिला तथा बालिका भारतबाट उद्धार गरी फर्काउने गरेको देखाउँछ।

बेचबिखनमा परेकालाई भारतलगायत कुवेत, लिबियाजस्ता देशबाट उद्धार गरिएको ब्यूरोका कार्यकारीनिर्देशक अनुपम राणाले बताए। केन्या, इन्डोनेसिया, मालवी, म्यानमारमा समेत नेपाली बेचिएका छन्। भारतको मणिपुर, मिजुराम र दिल्लीबाट मात्र २ सय १५ लाई उद्धार गरिएको छ। राणा भन्छन्, ‘प्रायः आफन्तबाटै बेचिन्छन्। सामाजिक सञ्जालको बढ्दो प्रयोगले यसमा अझै बल पुर्‍याएको छ।’

माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाका अनुसार सोच्दै नसोचेका स्थानमा नेपाली चेली बेचिएका छन्। बेचबिखनको तरिका र माध्यमसमेत परिवर्तन भएको कोइरालाले बताइन्। ‘हामी दुबईलाई राम्रो ठाउँ सोच्छौं तर त्यहाँ पनि नेपाली महिला बेचिएका छन्’, उनले भनिन्, बेचबिखनको तौरतरिका परिवर्तन हुँदा उद्धार गरेर नेपाल फर्काउन चुनौती थपिएको छ।’ नेपालका करिब १५ लाख मानिस बेचबिखनको जोखिममा छन्। तीमध्ये १३ देखि १९ वर्षका १२ लाख ग्रामीण किशोरी जोखिममा छन्।

महिला तथा बालबालिका यौनशोषण, यौन उत्पीडन तथा बेचबिखनको मारमा बढी पर्ने गरेको राष्ट्रसंघले अध्ययन गरेको मानव बेचबिखनसम्बन्धी ग्लोबल प्रतिवेदन २०१८ ले जनाएको छ। अध्ययनले ३५ प्रतिशत महिला तथा बालिका मानव बेचबिखन तथा यौन शोषणमा परेको तथ्यांक छ।

पछिल्लो समय आन्तरिक बेचबिखन बढेको छ। द फ्रिडम फन्डले २०१८ मा गरेको अध्ययनले काठमाडौं उपत्यकामा मनोरञ्जन व्यवसायमा करिब १७ सय बालबालिका कार्यरत छन्।

कोरिया र चीनमा नेपालसहित भियतनाम, क्याम्बोडिया, फिलिपिन्सजस्ता देशबाट विवाहका बहानामा महिलालाई लगेर दाससरह राखिएको विभिन्न अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाका प्रतिवेदनले देखाएका छन्। विवाहको बहानामा महिलालाई विदेश पठाउने प्रवृत्ति मानव बेचबिखनकै अर्को स्वरूप हो। धेरै व्यक्ति यौन शोषण र जबरजस्ती श्रमका लागि बेचिन्छन्। भिखारी, जबरजस्ती, विवाह, अश्लील सामग्रीको उत्पादन, शारीरिक अंग झिक्नसमेत पीडितलाई बेचिएको छ।

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनअनुसार गतवर्ष नेपालका अनुमानित ३५ हजार मानिस बेचबिखनमा परेका थिए। तीमध्ये १२ हजार वैदेशिक रोजगारी, ७ हजार वयस्क मनोरञ्जन र ३ हजार बाल श्रमका लागि बेचबिखनमा परेका छन्। पछिल्लो तीन वर्षमा मानव बेचबिखनको तथ्यांक पनि बढ्दो क्रममा छ। आव २०७४र७५ मा मानव बेचबिखन अपराध ब्यूरोमा ३ सय ५ र ०७५र७६ मा २ सय ५८ मुद्दा दर्ता भएका छन्। अन्नपूर्णबाट