व्यापक पूँजीको विकास विना समाजवाद असम्भव : पाण्डे


चितवनको रत्ननगर नगरपालिका स्थित टिकौली चौरमा आजदेखि १०औँ रत्ननगर महोत्सव २०७६ शुरु भएको छ । महोत्सवको उद्घाटन पूर्वअर्थमन्त्री एवम् सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले गरेका थिए । महोत्सवको उद्घाटन गर्दै पाण्डेले पुँजीको विकास नभएसम्म समाजवाद प्राप्त गर्न नसकिने बताएका छन। पाण्डेले समाजवादमा पुग्नकै लागि भए पनि पुँजीको विकास हुनुपर्नेमा जोड दिए।
निजी सम्पत्तिमाथि सरकारले हस्तक्षेप गर्ने रणनीति नलिएको भन्दै पाण्डेले सरकारका विरोधीहरुले निजी सम्पत्ति सरकारले कब्जा गर्दैछ भनेर हल्ला फिजाएको गुनासो गरे। पाण्डेले सरकारको काम कर लिने भएकाले निजी सम्पत्ति नहडप्ने बताए । निजी सम्पत्तिमाथि सरकारले हस्तक्षेप नगर्ने स्पष्ट पार्दै पाण्डेले निजी क्षेत्रलाई अगाडि बढ्न आग्रह समेत गरे। महोत्सव आगामी माघ ८ गतेसम्म चल्नेछ ।