रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा

चितवन, २२ पुस । पूर्वीचितवनको टिकौली चौरमा पुस २५ गतेदेखि हुने रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । रत्ननगर महोत्सवको आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीका अनुसार बुधबारसम्म महोत्सवको सबै तयारी पुरा हुनेछ ।

हरेक दुई वर्षमा आयोजना गरिने महोत्सवमा प्रत्येक पटक फरक फरक आकर्षण राखिदै आएको छ । यसपटकको महोत्सवमा जीपलाइन र सेल्फी प्वाइन्ट विशेष आकर्षणको रुपमा राखिएको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिए । वन्यजन्तुका आर्कषक चित्रसहित सेल्फी डाँडा बनाइएको महोत्सवका मूल संयोजक समेत रहेका अध्यक्ष रेग्मीले जानकारी दिए । महोत्सव कृषि र पर्यटनलाई आधार बनाएर अगाडि बढिरहेको रेग्मीको भनाइ छ । रत्ननगर महोत्सवलाई हरेक पटक फरक फरक ढंगले प्रस्तुत गर्दै आइरहेको रेग्मीले बताए ।

पुस २५ देखि माघ ७ गतेसम्म हुने सो महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउने खालका ४३८ स्टल रहने मूल संयोजक रेग्मीले जानकारी दिए । महोत्सवमा च्याउ टनेल, माछा पोखरी, रेष्टुरेन्ट तथा खाना, अटोमोबाइल्सका छुट्टाछुट्टै स्ट रहनेछ भने विभिन्न जातजातिका आठ वटा सांस्कृतिक घर रहनेछन् । यस पटकको महोत्सवमा ५ पाँच लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने तथा करीब ५० करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको उनले बताए ।

महोत्सवअन्तरगत पुस २९ गतेदेखि माघ ४ गतेसम्म रत्ननगरको टाँडी बजारमा तेश्रो चिकेन एण्ड एग फुड फेस्टिबल आयोजना गरिएको छ । महोत्सवको उद्घाटनका लागि पुस २५ गते उपराष्ट्रपति नन्दबहादुर पुन आउने तथा महोत्सकवको उद्घाटन पूर्व नेपाल माविको परिसरबाट शोभायात्र निकालिने रेग्मीले बताए ।