धार्मिक पर्यटन विकासको लागि सहिष्णुता’नारा बोकेर साइकलयात्री जोडी देवघाटबाट लुम्बिनी भ्रमणमा निस्कदै

चितवन/ चितवनका साइकलयात्री दम्पतीका रुपमा परिचित जोडी भरतपुर महानगरपालिका–१ निवासी रुक्मिणी सापकोटा घिमिरे र केशव घिमिरेले साइकलबाटै चितवनको अग्लो पहाड सिराइचुली, उपरदाङगढी मुक्तिनाथ, काठमाडौं , सिन्धुली, जनकपुरधाम लगायतका विभिन्न ठाउँ भ्रमण गरिसकेका छन् ।
हो यहि साईकल जोडी भोली मंगलबार ‘नेपाल भ्रमण वर्ष २०२०–धार्मिक पर्यटन विकासको लागि सहिष्णुता’नारा बोकेर लुम्बिनीको भ्रमणमा निस्किने भएका छन् । भोलि पुस २२ देखि २४ गतेसम्म साइकलयात्रामा निस्किन लागेको साइकलयात्री रुक्मिणी सापकोटाले जानकारी दिइन् ।
भ्रमण वर्षको प्रवद्र्धन तथा साइकल चढ्दा वातवरणमा एवं मानव स्वास्थ्यमा पुग्ने फाइदा र सरसफाइ बारेमा जानकारी दिने योजनाका साथ यात्रा सुरु गर्न लागेको केशव घिमिरेले जानकारी दिए। उनीहरु साइकल यात्रामा पुगेको गन्तव्यमा त्यहाँ वरपरको फोहोर टिपेर सरसफाई सन्देश पनि दिने गरेको र यसपालीको साइकलयात्रामा पनि सो अभियानलाई पनि निरन्तरता दिने रुक्मिणी सापकोटा घिमिरेले बताइन ।
उनीहरु भोलि नारायणगढबाट यात्रा सुरु गरी देवघाटमा पुगि पूजाआजा गरी यात्रा थाल्नेछन् । उनीहरु लुम्बिनी भ्रमणको क्रममा बाटोमा पर्ने मन्दिर, मस्जिद, चर्चलगायतका धार्मिक स्थलहरुमा पनि भ्रमण गर्ने कार्यक्रम रहेको घिमिरेले जानकारी दिइन् । विगत १० वर्षदेखि साइकल चलाउँदै आएका उनीहरु दैनिक आवतजावतमा पनि साइकल नै प्रयोग गर्दै आइरहेका छन् ।