जुम्लापछि काठमाडौंमा चिसो, तराईमा शीतलहर

सविन शर्मा/काठमाडौं/तराईका जिल्लामा केही साताअघि सुरु भएको शीतलहरका कारण जनजीवन प्रभावित भइरहेको छ । यता काठमाडौंको न्यूनतम तापक्रम शनिबार जुम्लापछिकै मापन भएको छ, जुन यस वर्षकै सबैभन्दा कम हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, काठमाडौंको शनिबारको न्यूनतम तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियस थियो भने अधिकतम् तापक्रम १५ दशमलव ७ डिग्री ।
बिहीबार काठमाडौंको न्यूनतम तापक्रम शून्य दशमलव ९ डिग्री मापन भएको थियो । त्यसयता उतारचढाव आइरहेको काठमाडौंको तापक्रम शनिबार पुनः घटेको हो । महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार काठमाडौंसहित मुलुकभर चिसो बढेको छ । पश्चिम नेपालमा चिसो बढेसँगै जनजीवन कष्टकर बनेको छ । पश्चिम क्षेत्रका कतिपय भूभागमा कुहिरो नहट्दा चिसो बढेको हो । पूर्वी क्षेत्रमा पनि चिसो बढेको छ ।यसैगरी, तराईका सबैजसो भागमा शीतलहरका कारण जनजीवन कष्टकर बनिरहेको छ । तराईका विभिन्न जिल्लामा शीतलहरका कारण शिक्षण संस्थाहरूसमेत बन्द गरिएका छन् ।

शीतलहरका कारण मृत्युका घटनासमेत हुन थालेका छन् । तराईमा अधिकतम तापक्रम घटेको छ भने हिमाल र पहाडमा न्यूनतम तापक्रम घटेको छ । एक÷दुई दिन मौसम यस्तै रहने महाशाखाले जनाएको छ । आकाशमा बादल नभएर खुला हुनु, उत्तर पश्चिमी वायु वहनु, हिमालको चिसो आउनुजस्ता कारणले चिसो बढेको मौसमविद् पोखरेलले जानकारी दिइन् ।
१३ वर्षअघि २ फागुन २०६३ मा काठमाडौं उपत्यकामा हिमपात भएको थियो । यो वर्ष पनि काठमाडौंमा हिमपात हुन सक्ने अनुमान गरिएको छ । मौसम विज्ञान विभागले तापक्रम घट्नेक्रम जारी रहने र चिसो बढ्ने पूर्वानुमान गरेको छ । त्यसैले, चिसोबाट बच्न सतर्कता अपनाउन विभागले सुुझाव दिएको छ ।
शनिबार सबैभन्दा कम तापक्रम जुम्लामा मापन गरिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार जुम्लामा न्यूनतम तापक्रम माइनस ६ डिग्री र अधिकतम १३ दशमलव ३ डिग्री मापन गरिएको थियो । त्यसपछि सबैभन्दा चिसो भएको काठमाडौंको न्यूनतम तापक्रम शून्य दशमलव ६ डिग्री र अधिकतम १५ दशमलव ७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको महाशाखाले जनाएको छ । यस्तै, वीरेन्द्रनगर सुर्खेतको न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री र अधिकतम १७ दशमलव ५ डिग्री सेल्सियस थियो । यस्तै, ताप्लेजुङको न्यूनतम १ दशमलव ९ डिग्री र अधिकतम १२ दशमलव ३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

यसैगरी, शनिबार डडेलधुराको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री र अधिकतम १३ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । धनगढीको न्यूनतम तापक्रम २ दशमलव ८ र अधिकतम १४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । शनिबार दीपायलको न्यूनतम तापक्रम २ दशमलव ८ र अधिकतम तापक्रम २० दशमलव ८ डिग्री मापन गरिएको थियो । दाङको २ दशमलव ९ डिग्री न्यूनतम थियो भने १६ दशमलव ८ डिग्री अधिकतम तापक्रम मापन गरिएको थियो । यस्तै, ओखलढुंगाको न्यूनतम ३ र अधिकतम १३ दशमलव ७ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।
यस्तै, शनिबार नेपालगन्जको न्यूनतम ३ दशमलव ५ र अधिकतम १२ दशमलव ६ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पोखराको न्यूनतम ३ दशमलव ६ र अधिकतम १६ दशमलव ४ डिग्री मापन गरिएको थियो । भैरहवा र धनकुटाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ । यस्तै, सिमराको न्यूनतम तापक्रम ५ दशमलव ५ र विराटनगरको ७ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।
तराईका भूभागमा अपराह्नसम्म बाक्लो हुस्सु र कुहिरो रहने हुनाले राम्रोसँग घाम नलागी तापक्रममा गिरावट आई चिसो नै रहने महाशाखाले जनाएको छ । महाशाखाले चिसोबाट बच्ने उपाय अपनाउनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।

भिजिबिलिटी कम हुँदा हवाई उडानमा समस्या

शनिबार बिहान तराई क्षेत्रका विमानस्थलमा पारदर्शिता अर्थात् भिजिबिलिटी कम हुँदा आन्तरिक उडानहरू हुन सकेनन् । दिउँसोसम्म नै त्यसको प्रभाव भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार बिहान धनगढी विमानस्थलको तापक्रम ३ दशमलव ६ डिग्री थियो भने भिजिबिलिटी ५० मिटर मात्र थियो । यस्तै, नेपालगन्ज विमानस्थलको तापक्रम ५ डिग्री र भिजिबिलिटी ५० मिटर मात्रै थियो ।
यसैगरी, भैरहवा विमानस्थलको तापक्रम ५ डिग्री र भिजिबिलिटी ५० मिटर, सिमरा विमानस्थलको तापक्रम ७ डिग्री सेल्सियस र भिजिबिलिटी ५० मिटर मात्रै थियो । जनकपुर विमानस्थलको तापक्रम ८ डिग्री र भिजिविलिटी ५ सय मिटर, विराटनगर विमानस्थलको तापक्रम ८ डिग्री र भिजिबिलिटी ५० मिटर मात्र थियो । तराई क्षेत्रका सबै विमानस्थलमा भिजिबिलिटी अत्यधिक न्यून हुँदा उडानहरू हुन सकेनन् । विमान उड्न र अवतरण गर्नका लागि कम्तीमा १० हजार मिटर भिजिबिलिटी आवश्यक पर्दछ ।

लमजुङ÷रास– मनाङ जिल्लाको तापक्रम माइनस १९ डिग्री सेल्सियसमा झरेको छ । तापक्रम माइनसमा झर्दा खानेपानी बरफ बनेको छ भने जनजीवन अस्तव्यस्त बन्दै गएको छ ।चिसो बढेर रातको समयमा शुक्रबार र शनिबारको तापक्रम माइनस १९ डिग्री सेल्सियसमा झरेको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए । उनले भने, ‘यहाँ अब फागुनसम्म यस्तै रहन्छ ।’

सदरमुकाम चामेमा गत २७ र २८ मंसिरमा परेको हिउँ अझै पग्लिएको छैन । प्रजिअ पौडेलले भने, ‘यतिबेला गाउँहरू प्रायः पालोपालो गरेर एक जनाले कुर्ने र अरू त काठमाडौं, पोखरा, चितवन जाने गरेका छन् । त्यसरी एक जना बस्नुको कारण पनि कोही पाहुना ९पर्यटक० आए भने खानेबस्ने प्रबन्ध गर्नका लागि रहेछ । त्यसरी गएका उनीहरू अब फागुनपछि मात्र फर्केर आउनेछन् ।’ उनले थपे, ‘अफिसियल जिम्मेवारीले जिल्लावासी नबसे पनि हामीले त जिल्ला छाड्न मिलेन ।’
खानेपानीको पाइपमा पानी जमेर बरफ बनेकाले खानेपानीको समस्या भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक श्रवणकुमार विकले बताए ।‘चिसोका कारणले यतिबेला त पाहुना राख्न नै सकिन्न,’ चामे गाउँपालिका–४ स्थित मोनालिसा होटलकी सञ्चालक लक्ष्मी गुरुङले भनिन् । उनले बिहानीपख साँझमा बाल्टीमा राखेको पानी जमेर बरफ बनेको देखाइन् । राजधानी दैनिकबाट