राजपा सरकारमा सहभागी हुने संकेत, मुख्य सर्त संविधान संशोधन

सुभाष साह /काठमाडौं /राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल संघीय सरकारमा सहभागी हुने सम्भावना बढेको छ । समाजवादी पार्टी सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै केपी शर्मा ओली नेतृत्वको सरकारले दुई तिहाइ गुमाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले दुई तिहाइ गुमाएलगत्तै राजपालाई सरकारमा ल्याएर गुमेको दुई तिहाइलाई यथावत् राख्ने कोसिस थालेका छन् । सोही कोसिसअनुसार प्रधानमन्त्री ओलीले राजपा अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोलगायत सो दलका अन्य नेताहरुसँग समेत औपचारिक र अनौपचारिक छलफल थालेका छन् ।

राजपा नेपाल अध्यक्षमण्डलका संयोजक महतोले समेत पार्टी संघीय सरकारमा सहभागी हुन सक्ने संकेत गरेका छन् । तर, उनले यसका लागि सरकार संविधान संशोधनसहित आफूहरुका अन्य माग पूरा गर्न सहमत हुनुपर्ने सर्त राखेका छन् ।
बिहीबार राजधानीसँग कुरा गर्दै संयोजक महतोले पार्टीले उठाउँदै आएको माग सरकारले सम्बोधन गरे सरकारलाई हरेक किसिमको सहयोग गर्न सकिने बताए । उनका अनुसार संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनमा लागेकाहरुको झुटा मुद्दा फिर्तालगायत माग राजपाले उठाउँदै आएको छ । सरकार यी माग सम्बोधन गर्न तयार भएको खण्डमा राजपा पनि सरकारमा सहभागी भई सरकारलाई सहयोग गर्ने उनले बताए ।
‘वेट एन्ड वाच । हेरौं, सरकारले कस्तो व्यवहार गर्छ रु सरकारले सकारात्मक व्यवहार गरे हामी पनि सरकारमा जान सक्छौं,’ महतोले भने, ‘सरकारले जस्तो व्यवहार गर्छ, हामी पनि त्यसरी नै व्यवहार गर्छौं । तर, उधारो सहमति गरिँदैन ।’
सरकारसँगको सम्बन्ध राम्रो हुँदै गएको बताउँदै उनले सरकारलाई चाहिने हरेक किसिमको सहयोग गर्न राजपा तयार रहेको बताए । तर, राजपाले उठाउँदै आएको माग सम्बोधन नभए पार्टी सरकारमा सहभागी नहुने उनले स्पष्ट पारे । राजपाले उठाउँदै आएको माग सम्बोधन गर्न सरकार सकारात्मक भएमा पार्टीले पनि सोहीअनुसार सहयोग गर्दै अगाडि बढ्न सक्ने उनले बताए । संविधान संशोधनका लागि समेत दुई तिहाइ आवश्यक रहेकाले एकले अर्कोलाई सहयोग गर्दै अगाडि बढ्नुको विकल्प नभएको उनले बताए ।
‘प्रधानमन्त्री शक्तिशाली हुनुहुन्छ । दुई तिहाइ निकट हुनुहुन्छ । हामी दुई तिहाइ पु¥याउन पनि तयार छौं । उपेन्द्र यादवले समर्थन फिर्ता लिएपछि दुई तिहाइ पुग्दैन भनेर चिन्ता लिनुपर्दैन । प्रधानमन्त्री सबै नेपालीको संविधान बनाउन तयार भए हामी दुई तिहाइ पु¥याउन सहयोग गर्छौं,’ महतोले भने ।

सरकारसँग राजपाले गरेको आशाअनुसार काम भए संघीय सरकारमा मात्र नभई प्रदेश २ सरकारमा पनि केही गर्न सकिने भन्दै उनले प्रदेश २ सरकार पनि परिवर्तनको संकेत गरे ।
केही समयअघि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० र राजपा नेपालबीच भएको दुई बुँदे सहमतिले समेत राजपा सरकारमा सहभागी हुने विश्वास नेताहरूले गरेका छन् । राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने र नेकपा र राजपा नेपालबीच राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नियमित छलफल गर्ने र सहकार्यको प्रक्रियालाई अघि बढाउने दुई बुँदे सहमतिमा उल्लेख छ ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र राजपा नेपाल संयोजक महतोले सो दुई बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । नेकपा अध्यक्षद्वय ओली र दाहालका साथै सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, राजपाका तर्फबाट संयोजक महतोका साथै अध्यक्ष मण्डलका सदस्यहरू महन्थ ठाकुर, महेन्द्रराय यादव, शरदसिंह भण्डारी र राजकिशोर यादवसमेत सहभागी थिए ।
यसैबीच राजपा नेपालका संयोजक महतोले बुधबार बिहान प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेका छन् । महतोले ओलीसँग लामो समय पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेको स्रोतको भनाइ छ ।
ओली र महतोबीच राष्ट्रिय सभाको निर्वाचन, सभामुख, उपसभामुखको निर्वाचन, सरकारमा सहभागितालगायत विषयमा छलफल भएको स्रोतले जनाएको छ । तर, महतोले प्रधानमन्त्री ओलीलाई भेटेको कुरा अस्वीकार गरेका छन् ।

मुख्यमन्त्रीका लागि राजपाभित्र अर्को माग

सत्तारूढ नेकपा र प्रतिपक्षी राजपा नेपालबीच दुई बुँदे सहमतिसँगै प्रदेश २ मा नयाँ सरकार गठन हुने सम्भावना बढेको छ ।
दुई दलको सहमतिअनुसार राजपा नेपाल संघीय सरकारमा सहभागी हुने र प्रदेश २ मा नेकपा र राजपा नेपाल गठबन्धनको प्रदेश सरकार गठन हुने चर्चा चलेको छ ।
राजपा नेपालका महासचिव तथा प्रदेश २ का सांसद मनीषकुमार सुमनले पार्टीभित्र संसदीय दलका नेताको निर्वाचनको माग उठाएका छन् । अहिलेसम्म राजपाको प्रदेश २ मा संसदीय दलको नेताको निर्वाचन नभएको बताउँदै उनले पार्टी अध्यक्षमण्डलसमक्ष दलको नेताको निर्वाचन गर्न माग गरेका हुन् ।
प्रदेश २ मा समाजवादी र राजपा नेपालको गठबन्धनको सरकार छ । समाजवादीले संघीय सरकार छोड्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेश २ सरकार फेरबदल हुने निश्चित भएसँगै राजपाभित्र संसदीय दलको निर्वाचनको माग उठेको हो ।

राजपा अध्यक्षमण्डलका पूर्वसंयोजक महन्थ ठाकुरले प्रदेश २ मा पार्टीको संसदीय दलको नेताका रूपमा जितेन्द्र सोनललाई पत्र लेखेर बनाएका थिए । ठाकुरको पत्रका आधारमा संसदीय दलको नेता बनेका सोनल प्रदेश २ मा भौतिक पूर्वाधार मन्त्रीसमेत छन् । तर, विधानअनुसार संसदीय दलको नेता हुन प्रदेश सांसदको बैठकबाट मत लिएर संसदीय दलको नेता हुनुपर्ने भएकाले अहिलेसम्म सोनलले त्यस्तो मत नलिएकाले त्यसलाई मान्न नसकिने सुमनले अध्यक्षमण्डलका नेतालाई बताउँदै आएको राजपा स्रोतले जनाएको छ ।

अब हुने संसदीय दलको नेताको निर्वाचनमा आफू उम्मेदवार हुने भन्दै सुमनले आफू निकटका सांसदसँग छलफल गर्दै सहयोगको अपेक्षा राखेका छन् । विधानअनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री हुने भएकाले आगामी मुख्यमन्त्रीमा पनि आफ्नो दाबी रहेको सुमनले बताउँदै आएको राजपा स्रोतले जनाएको छ ।
सुमनले दलको नेता र मुख्यमन्त्रीमा दाबी गर्दै राजपा अध्यक्षमण्डलका नेतासमक्ष कुरा राखेपछि विवाद सुरु भएको छ । साथै संसदीय दलको नेता विधानअनुसार नबनाइएकाले वैधानिक प्रश्न पनि पार्टीभित्र उठेको छ ।
राजपा नेपालका प्रदेश २ मा २५ र नेकपाका ३२ सांसद छन् । प्रदेश २ मा सरकार गठनका लागि आवश्यक बहुमत नेकपा र राजपासँग छ । तर, संविधानअनुसार प्रदेश सरकारको विरुद्धमा दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने भएकाले नेकपा र राजपाका नेताहरू केही समय कुरेर बसेका छन् ।
३ फागुनमा प्रदेश २ सरकार गठन भएको दुई वर्ष पुग्दै छ । यसपछि संविधानअनुसार नै प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर नेकपा र राजपाले प्रदेश २ मा गठबन्धनको सरकार गठन गर्ने तयारी गरेको स्रोतको दाबी छ । राजधानी दैनिकबाट