राजश्व छल्ने उद्योगहरु विरुद्ध सरकारको निगरानी बढ्यो, धमाधम मुद्धा दर्ता, कार्बाहीको तयारी

काठमाडौं । राजस्व चुहावट नियन्त्रणका लागि सरकार आक्रामक रूपमा अघि बढेसँगै करोडौं रुपैयाँ राजस्व छलीका अपराध शृंखला धमाधम खुल्दै जान थालेका छन् । विभिन्न चोर तरिका अपनाएर राजस्व छल्न खोज्नेविरुद्ध सूक्ष्म निगरानी बढाएको राजस्व अनुसन्धान विभागले मंगलबार झन्डै १२ करोड राजस्व छलीमा संलग्न श्रीराम टोबाको उद्योग प्रालिसहित तीनवटा फर्मका सञ्चालकविरुद्ध बिगो र कैद सजाय माग गर्दै मुद्दा दायर गरेको छ ।

राजस्व चुहावट तथा विदेशी मुद्राको विनिमय अपचलन गरेको अभियोगमा विभागले श्रीराम टोबाको उद्योगसहित तीनवटा फर्मका सञ्चालकविरुद्ध ११ करोड ८१ लाख १६ हजार ७८५ रुपैयाँ बिगो र बिगोको दोब्बर जरिमाना एवं तीन वर्ष कैद सजायको मागदाबी गर्दै काठमाडौं र रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । विभागले पछिल्ला २२ महिनायता मात्रै झन्डै १३ अर्ब राजस्व छली गर्ने झन्डै ६ सय कम्पनी, फर्म तथा व्यक्तिविरुद्ध कारबाहीको माग गर्दै मुद्दा दायर गरेको थियो ।

विभागका महानिर्देशक दीर्घराज मैनालीले श्रीराम टोबाको उद्योग प्रालि, न्यु लालीगुराँस इन्टरप्राइजेज र एक भारतीय नागरिकविरुद्ध झन्डै १२ करोड रुपैयाँ राजस्व चुहावट तथा विदेशी मुद्राको विनिमय अपचलन गरेको अभियोगमा मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको जानकारी दिए । उनले विभागबाट खट्टिएका अनुगमन टोलीमार्फत विभिन्न सूचनाको आधारमा आर्थिक अपराध गर्नेविरुद्ध कारबाहीलाई सशक्त पारिएको बताए ।

विभागका अनुसार रुपन्देहीको बुटवल नगरपालिका–१२ मा रहेको श्रीराम टोबाको उद्योगका सञ्चालकविरुद्ध १० करोड ७३ लाख बिगो दाबी गरिएको छ । यसैगरी, न्युलालीगुराँस इन्टरप्राइजेजविरुद्ध ५९ लाख ३४ हजार बिगो दाबी गरिएको छ । अर्का एक भारतीय नागरिक असफाक मिर्जाविरुद्ध ४८ लाख ७८ हजार १२० रुपैयाँ बिगो दाबी गरिएको छ । मिर्जाविरुद्ध बिगोको तेब्बर जरिमाना र तीन वर्ष कैद माग दाबी गरिएको विभागले जनाएको छ ।

श्रीराम टोबाको उद्योगका सञ्चालक टानबहादुर पाण्डे, कमलकिशोर मालपानी, चुन्नप्रसाद शर्मा पौडेल, श्रवणकुमार बेरिवाल, बलराम अधिकारी, रामप्रसाद ढकाल र उमादेवी शर्मासमेतले सो कम्पनीबाट उत्पादन हुने अन्तःशुल्क लाग्ने सुर्तीजन्य पदार्थको उत्पादन कम देखाई विभिन्न विक्रेताको सहयोगमा स्टिकर र कर बिजक बिना मालवस्तु बिक्री गरेको पाइएको छ । राजधानी दैनिकबाट ।