तेस्रो राष्ट्रिय महाधिवेसनको निम्ती देशभरका १५ सय होटल व्यवसायी जुट्दैं सुर्खेतको वीरेन्द्रनगरमा

सुर्खेत / नेपालभरका होटल व्यवसायी कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भेला हुने भएका छन्। सातवटै प्रदेशका होटल व्यवसायबाट प्रतिनिधित्व गर्दै १५ सयको सङ्ख्यामा होटल व्यवसायी वीरेन्द्रनगरमा आउन लागेका हुन्।
भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा होटल व्यवसायीहरू वीरेन्द्रनगरमा आउन थालेको होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष अमृत भुजेलले जानकारी दिए। महासंघको तेस्रो राष्ट्रिय महाधिवेसनका लागि महासंघमा आवद्व सातै प्रदेशका ८० हजार होटल व्यवसायीको प्रतिनिधित्व गर्दै होटल व्यवसायीहरू वीरेन्द्रनगर आउन थालेको उनले जानकारी दिए। महासंघको महाधिवेसन यही पुस ४ र ५ गते आयोजना गरिँदैछ ।

कर्णालीमा पर्यटकको आवगमन बढाउनका लागि राष्ट्रिय महाधिवेसन वीरेन्द्रनगरमा आयोजना गरिएको अध्यक्ष भुजेलको भनाइ छ। ‘राष्ट्रिय महाधिवेसनले कर्णाली प्रदेश सरकारले लिएको समृद्विको नारालाई समेत सघाउ पुर्‍याउनेछ,’ उनले भने, ‘कर्णालीमा पर्यटकीय स्थलहरूको प्रचारप्रसारमा सघाउ पुर्‍याउनुका साथै थप पर्यटकीय गन्तव्यसमेत पहिचान हुने हामीले आशा लिएका छौं।’

अर्गानिक प्रदेश अभियानमा व्यवसायीको साथ

अध्यक्ष भुजेलले कर्णाली प्रदेश सरकारले लिएको अर्गानिक प्रदेश अभियानलाई सकारात्मक बताउँदै होटल व्यवसायी महासंघले यस अभियानमा सहयागीको भूमिका निभाउने बताए।

कर्णालीमा उत्पादित अर्गानिक खाद्य सामग्री तथा स्थानीयस्तरमा तयार पारिएका हस्तकलालगायतका वस्तुको प्रवद्र्वनका लागि होटल व्यवसायी तयार रहेको उनले बताए। भ्रमण वर्ष २०२० को सन्दर्भमा पाहुनालाई अर्गानिक खुवाउनसमेत उनले व्यवसायीलाई आग्रह गरे।

बसपार्क तथा विमानस्थलमा आन्तरिक तथा वाह्य पर्यटकहरूमाथि बिचौलियाले दुःख दिने गरेको बताउँदै अध्यक्ष भुजेलले भ्रमण वर्षलाई लक्षित गरी यस्ता स्थानमा पर्यटकलाई सहयोग गर्न ‘हेल्प डेस्क’को स्थापना गरिने जानकारी दिए। ‘नेपालका केही स्थानमा यो सेवा लागू भइरहेको पनि छ। हामी यसलाई देशैभर लैजान चाहन्छौ,’ उनले भने, ‘जसले आन्तरिक तथा वाह्य पर्यटकलाई भ्रमणका समयमा सघाउ पुर्‍याउनेछ।’

महाधिशेनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष भुजेललगायत संस्थापक अध्यक्ष पदमराज अवस्ती, अध्यक्षका उमेद्वार हिराध्वज शाह, होटल व्यवसायी महासंघ सुर्खेतका अध्यक्ष तर्क शाहीलगायतको उपस्थिति थियो।