यस्तो बिकासको के काम : ‘कालोपत्रे गरेको एक हप्ता नबित्दै उप्कियो’

गोरखा । गोरखा नगरपालिको वडा नं। १३ अबुवामा गरिएको सडक कालोपत्रे एक हप्ता नबित्दै उप्किएको छ। चितवनमा पकाएर ल्याएको बिटुमिनले गरिएको कालोपत्रे एक हप्ता नबित्दै उप्किएर सडक खाल्डैखाल्डा भएको छ। कालोपत्रे करिब ८ सय मिटरमा गरिएको छ।

गत शुक्रबार र त्यसअघि बुधबार राति सडक कालोपत्रे गरिएको स्थानीय दीपक अधिकारी बताउँछन्। गाउँका मान्छे खानाखाएर सुतेपछि गरिएको कालोपत्रे सवारीसाधन चल्न नपाउँदै उप्किएको अधिकारीले बताए। ‘सुरुको खण्डमा राम्रोसँग काम भएको थियो। त्यसपछि जति पर गयो, त्यति झारा टार्ने काम भयो’, पालुङटार ९ बिर्दी निवासी अधिकारीले भने, ‘एक हप्ता नबित्दै कालोपत्रे उप्किएपछि ४ दिनदेखि गाडी चल्न रोक लगाइएको छ।’ चितवनमा तयार गरेर ल्याइएको अलकत्रा बिछ्याउँदा तापक्रम नमिलेर उप्किएको स्थानीयको अनुमान छ।

गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यालय लमजुङले करिब ७० लाख रुपैयाँ लागतमा सडक कालोपत्रे गरेको हो। प्रजिल कन्स्ट्रक्सन ललितपुरले २०७५ फागुनमा अबुवादेखि ८ सय मिटर सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता गरेको थियो। निर्धारित समयमा काम नगरेपछि थप गरिएको म्यादको अन्तिममा काम सुरु गरेको हो। २०७६ असारसम्म सिध्याउनुपर्ने सडकको काम समयमै सम्पन्न नभएपछि ६ महिना म्याद थप गरिएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर प्रल्हाद लामिछानेले बताए। यो खबर अन्नपुर्ण पोष्ट दैनिकमा छ ।