दशगजामै भारतीय चौकी:सरकार किन मुकर्दशक !

(परासी) र (नेपालगन्ज) सीमा जोडिएको पश्चिम नवलरासीको सीमावर्ती दशगजा क्षेत्रमा भारतीय पक्षले अस्थायी चेक पोस्ट स्थापना गरेको छ । दशगजा क्षेत्र नेपाल–भारत दुवै पक्षले प्रयोग गर्न नपाइने भए पनि यहाँ भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले नियमविपरीत स्थापना गरेको हो । पाल्हीनन्दन गाउँपालिका–५ को चिमनटोलादेखि सुस्तासम्म दशगजा छ ।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले केही स्थानमा एसएसबीले दशगजा क्षेत्रमा सुरक्षा पोस्ट निर्माण गरेको बताए । त्यसबारे सम्बन्धित निकायलाई कूटनीतिक रूपमा जानकारी गराउने बताए । ‘अधिकांश स्थानमा दुवै पक्षबाट पालना गर्नुपर्ने नियम पूरा भएको छ,’ उनले भने, ‘एकरदुई स्थानमा दशगजा छुने गरेर अस्थायी पोस्ट भएको भेटिएपछि तत्काल हटाउन भनिएको छ ।’

सीमा क्षेत्रमा सशस्त्र प्रहरीका तीनवटा बोर्डर आउट पोस्ट (बीओपी) छन् । भारततर्फ भने एसएसबीका १० भन्दा बढी पोस्ट छन् । सीमा क्षेत्रमा बीओपी कम भएपछि अहिले पाल्हीनन्दन गाउँपालिकाको गेर्मीमा अर्को पोस्ट स्थापनाको तयारी गरिएको सशस्त्र प्रहरी बल पश्चिम नवलपरासीका उपरीक्षक भरत खनियाले बताए । त्यसपछि भुजहवामा राख्ने गरी जिल्लास्थित सुरक्षा समितिबाट प्रस्ताव गरी पठाइएको छ ।
जिल्लास्थित सुरक्षा अधिकारीको संयुक्त अनुगमन टोलीले दशगजा क्षेत्रमा निर्माण गरिएका केही सीमास्तम्भ (पिलर) हरूको रङरोगन मेटिएको अवस्थामा पाएको छ । केही स्तम्भका नम्बर मेटिएको छ । सीमा क्षेत्रमा १३ वटा प्रमुख र तीवटा सहायक गरी १६ वटा सीमास्तम्भ छन् । सनहीदेखि कुडियासम्म ती स्तम्भ छन् ।सीमास्तम्भको मर्मत सम्भार दुवै देशले गर्नुपर्ने प्रावधान छ । सुस्ताको २४ किमि क्षेत्रमा सीमास्तम्भ छैन । सीमास्तम्भ नभएका ठाउँमा खोला, रूख वा अन्य जैविक सीमाको भर पर्नुपरेको छ । त्यसले गर्दा जोतभोगका विषयमा सीमावर्ती क्षेत्रका बासिन्दाबीच पटक–पटक विवाद हुने गरेको छ ।

सीमा छुट्याउनै हम्मे

बाँकेको नरैनापुर गाउँपालिकाको हुलासपुर्वा गाउँपारि भारतीय बजार छ । त्यहीँ नेपाल–भारत सीमा छुट्याउने दशगजा छ । दशगजामै बस्ती छ । वारिपारि दुवैतर्फका बासिन्दाले बसोबास गर्नै नमिल्ने जग्गामा घरटहरा हालेका छन् । बस्ती बाक्लिँदै गएपछि अहिले उक्त क्षेत्रमा दुई देशबीचको सीमा छुट्याउन हम्मे पर्छ ।

नेपाली भूमिमा आएका भारतीयहरू घाम अस्ताएपछि घाँस–दाउरा, वस्तुभाउसँगै फर्कन्छन् । यहाँको बस्तीले गर्दा दुई मुलुकका सीमा प्रष्ट छुट्टिंदैनन् । नरैनापुरकी सबानो शेख चार वर्षअघि भारतीय बुहारी भएर भित्रिइन् । अहिले डेढ वर्षकी छोरी हुर्काइरहेकी छन् । उनलाई कहिल्यै नेपाल छाडेर आएजस्तो लाग्दैन । आँगन पार गर्नासाथ नेपाल टेकिन्छ । पाँच मिनेटको दूरीमा रहेको माइती पुगेर न्यास्रो मेटाउँछिन् ।कान्तिपुर दैनिकबाट ।