ल हेर्नुहोस कुलमानको कमाल : बिद्युत प्राधिकरणद्वारा सञ्चालित आयोजनाहरुको वित्तीय प्रगति १०१.५२ प्रतिशत

काठमाडौं, मंसिर २६ । नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको विद्युत उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुको वित्तीय प्रगति १०१।५२ प्रतिशत देखिएको छ । प्राधिकरणद्वारा सञ्चालित आयोजनाहरुले चालु आर्थिक वर्ष २०७६र७७ को पहिलो चार महिनाको अवधीमा यस्तो प्रगति देखिएको हो । प्राधिकरणका अनुसार साउन, भदौ, असोज र कात्तिकमा १३ अर्ब ११ करोड रुपैया खर्च गर्ने लक्ष्य राखिएकोमा १३ अर्ब ३१ करोड रुपैयाँ खर्च भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आयोजनाहरुको समग्रमा भौतिक प्रगति लक्ष्यको ८६ प्रतिशत रहेको छ । कार्यकारी निर्देशक घिसिङले ठेक्का सम्झौता भएका आयोजनाहरुलाई दिइएको अग्रिम भुक्तानी र बहुवर्षीय ठेक्का लागेका आयोजनाहरुको गत सालको बाँकी भुक्तानीले गर्दा वित्तीय प्रगति बढी भएको जानकारी दिनुभयो । ‘वन क्षेत्रको जग्गा प्रयोगमा रहेको प्रक्रियागत झन्झटका कारण सिर्जित समस्या, जग्गा अधिग्रहणको समस्या, प्रसारण तथा वितरण लाइनमा भइरहेको अवरोधका वावजुद आर्थिक बर्षको पहिलो चार महिनामा लक्ष्यभन्दा बढी वित्तीय र भौतिक प्रगति गर्न सफल भएको छौं,’ घिसिङले भन्नुभयो, ‘वन क्षेत्रको जग्गा प्रयोग, जग्गा अधिग्रहण लगायतमा रहेका समस्या समाधान गर्न सबै क्षेत्रबाट तदारुकताका साथ सहयोग भएमा आवको बाँकी अवधिमा निर्माणाधीन आयोजनाको प्रगति अझै बढ्ने छ ।’

प्राधिकरणले चालु आर्थिक बर्षमा संघीय सरकारको स्रोतबाट १० अर्ब ३१ करोड र वैदेशिक ऋण तथा अनुदानबाट ४५ अर्ब ३० करोड गरी ५५ अर्ब ६१ करोड रुपैयाँ बजेट पाएको छ । विभिन्न कारणले रुग्ण बनेका ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजना चालु आवको पहिलो चौमासिकमा निर्माण सम्पन्न भई ७४ मेगावाट विद्युत् उत्पादन सुरु भएको छ । यसैगरी, रुग्ण बनेको काबेली करिडोर १३२ केभी प्रसारण लाइन पनि यही अवधिमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । प्राधिकरणको उत्पादनतर्फ समीक्षा अवधिमा चार अर्ब ४२ करोड खर्च गर्ने लक्ष्य राखिएकोमा तीन अर्ब ३३ करोड रुपैयाँ खर्च भएको छ । जुन लक्ष्यको तुलनामा खर्च र भौतिक प्रगति क्रमशः ७५.४६ र ७६.६३ प्रतिशत हो । यस अवधिमा प्राधिकरणका र निजी क्षेत्रका ६ आयोजनाको ७३.५ गरी १४७.५ मेगावाट विद्युत् प्रणालीमा थप भएको छ।

यस्तै प्रसारण लाइनतर्फ ६ आयोजनाको एक सय ९३ सर्किट किलोमिटर लाइन निर्माण सम्पन्न भएको छ । यस अवधिमा सात वटा नयाँ सबस्टेसन निर्माण सम्पन्न भएका छन् भने आठ वटाको स्तरोन्नति गरिएको छ। विद्युत् प्रसारण र वितरण लाइनतर्फ क्रमशः सात अर्ब ८० करोड र एक अर्ब ९१ करोड विनियोजन गरिएकोमा पहिलो चौमासिकमा क्रमशः तीन अर्ब ४६ करोड र चार अर्ब ८३ करोड रुपैयाँ खर्च भएको छ । प्रसारण लाइनतर्फको खर्च र भौतिक प्रतिशत क्रमशः ४४।७४ र ५३ रहेको छ । यस्तै वितरण लाइनतर्फको खर्च र भौतिक प्रगति क्रमशः २५३.५८ र २५४.७० प्रतिशत छ । प्रसारणतर्फ ४००, २२० र १३२ केभी प्रसारण लाइन तथा सबस्टेसन आयोजनाहरु निर्माणाधीन रहेका छन ।

यस्तै जलविद्युत् आयोजनाको अध्ययनका लागि ४३ करोड २२ लाख विनियोजन भएकोमा २१ करोड ३७ लाख रुपैयाँ खर्च भएको छ । जसको खर्च र भौतिक प्रगति क्रमश: ४९.४३ र ५५.९२ प्रतिशत रहेको छ । प्राधिकरणले १०६१ मेगावाटको माथिल्लो अरुण, दूधकोसी, माथिल्लो मोदी ए, तामाकोसी पाँचौ जलविद्युत् आयोजनाको विस्तृत अध्ययन गरिरहेको छ । यस्तै सहायक कम्पनीमार्फत ४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी र १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । माथिल्लो तामाकोसीले यस अवधिमा दुई अर्ब ४६ करोड बजेट खर्च गर्ने लक्ष्य तय गरेकोमा एक अर्ब ७६ करोड रुपैयाँ खर्च गरेको छ ।

यस्तै तनहुँ जलविद्युत आयोजनाले समीक्षा अवधिमा ६५ करोड ७५ लाख खर्च गर्ने लक्ष्य राखेकोमा ४२ करोड ८० लाख रुपैयाँ खर्च भएको छ । बिद्युत चुहावट पनि घटेको छ । चालु आवमा विद्युत चुहावट १४।५ प्रतिशतमा झार्ने लक्ष्य राखेको प्राधिकरणले समीक्षा अवधिमा १४.१६ प्रतिशतमा झारेको छ ।