पर्यटकीय क्षेत्र मेघौलीमा २३ करोड लगानीमा राइनो पार्क बन्ने

मुख्यमन्त्री पौडेलले आजै गरे शिलान्यास

सुर्य बराल । चितवन । पश्चिम चितवनको पर्यटकीय स्थल मेघौलीमा प्रदेश सरकारको २३ करोड लगानीमा राइनो पार्क बन्ने भएको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार पार्कको शिलान्यास गर्दै आफुले धेरै पहिलेबाट पर्यटकीय क्षेत्रको रुपमा नाम सुनेको मेघौलीको बिकासको लागी प्रदेश सरकारले सक्दो लगानी गर्ने बताए ।
मुख्यमन्त्री पौडेलले भने प्रदेशका दशवटा जिल्लाको मुख्य पर्यटकीय गन्तब्य चितवनको मेघौलीलाई राखिएको छ । प्रदेश सरकारले मेघौलीलाई एक नम्बरमा राखेको भन्दै मुख्यमन्त्री पौंडेलले चितवन नेपालको तेस्रो तर प्रदेश सरकारको काठमाण्डोंपछीकै दोस्रो पर्यटकीय गन्तब्य भएको बताए । मुख्यमन्त्री पौडेलले भने, ‘चितवनमा कृषि र पर्यटन दुवैको प्रचुर सम्भावना छ, सोही अनुसार प्रदेश सरकारले पनि लगानी गरिरहेको छ ।’ पुरानै शैली, ढाँचा, भाषण मात्रैं गर्ने, कुरा गर्ने लगानी नगर्ने मनोरोगले बिकास गर्न नसकिने भएकाले सबैजना आ आफ्नो ठाँउमा सच्चीएर अघि बढ्नुपर्नेमा जोड दिए । पौडेलले प्रदेश ३ का सबै जिल्लामा प्रदेश सरकार देखिने गरी काम भइरहेको भन्दै मेघौलीको बिकासले चितवन मात्र होईन सिंङ्गो देशलाई फाईदा पुग्ने बताए ।
मुख्यमन्त्रीले शिलान्यास गरेको राइनोपार्कमा ४० फिट लम्वाइ र ३९ फिट चौडाइ भएको गैंडाको प्रतिमा समेत बनाउने तयारी छ । दुई तलामा रहने प्रतिमाको पहिलो तलामा पर्यटक सूचना केन्द्र र दोस्रो तलामा संग्राहलय बनाउने योजना रहेको छ । भरतपुर महानगरपालिका र प्रदेश ३ सरकारको संयुक्त लगानीमा दुई करोड ९० लाखको लगातमा गैंडाको प्रतिमा बनाउन लागिएको पर्यटन विद विश्व सुवेदीले जानकारी दिए । शिलान्यास कार्यक्रममा बोल्दै प्रदेश सासंद कृष्ण भुर्तेलले संघिय सरकारको १०० पर्यटकीय गन्तब्यमा नपरेपछी निराश बनेका यहाँका स्थानिय प्रदेश सरकारको कामबाट खुसी बनेको भन्दै मुख्यमन्त्रीलाई स्थानियको तर्फबाट धन्यबाद दिएका थिए । कार्यक्रममा प्रदेश सांसद कञ्चन खनाल, भरतपुर महानगरपालिकका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी लगाएतले मन्तब्य राखेका थिए ।