अमेरिकामा हुनेभन्दा बढी अम्दानी गाउँमै

दोलखाको भीमेश्वर नगरपालिका रामकोटका किसान माधवप्रसाद न्यौपानेले तरकारी खेतीबाटै भएको आम्दानीले घर व्यवहार चलाएका छन् ।बजारको मागअनुसारको बेमौसमी तरकारी फलाउन सफल किसान न्यौपानेले तरकारी उत्पादनबाट वार्षिक १८ लाख रुपियाँसम्म कमाउने गरेका छन् ।१० रोपनी जग्गामा गोलभेँडा, आलु, लसुन, प्याज, काउली, सागपातलगायतको तरकारी उत्पादनमा तल्लिन किसान न्यौपानेले सबैभन्दा बढी आलु र गोलभेँडा बिक्री गर्ने गरेको बताए ।

उनले भने, ‘वर्षमा आलु तीन पटक, गोलभेँडा दुई पटक र सागपात सधैंभरी उत्पादन गरेर बेचिरहेको छु । एक सिजनमा कम्तीमा छ लाख रुपियाँसम्म कमाइ हुने गरेको छ । तीन सिजनको तरकारी मैले बेच्दा कम्तीमा २० लाख जति त बचाउने गरेको छु ।’

१२ कक्षासम्म अध्ययन गरेर जागिरे जीवन पनि सुरु गरेका न्यौपानेले जागिरले घर व्यवहार चलाउन नसक्दा तरकारी खेतीमा लागेको बताए । २०६८ सालबाट तरकारी खेती सुरु गरेका न्यापानेले तरकारीको आम्दानीबाटै आमाबुबा, छोराछोरी र श्रीमतीसहित ६ जनाको परिवार धानेका छन् ।

उनले तरकारी खेतीबाट भएको आम्दानीले साढे दुई तलाको पक्की घर बनाउनुका साथै जमिनसमेत जोडेका छन् । दैनिक १० देखि १२ घण्टासम्म खेतबारीमै समय बिताउँदा विदेशको भन्दा दोब्बर कमाइ हुने भएकालेले पनि आफूलाई विदेश जाने रहर नजागेको बताए । उनले भने, ‘मिहिनेत गरे यही अमेरिकाभन्दा बढी कमाइ हुन्छ भने किन विदेश जाने ?’

तरकारीमा विषादी प्रयोग नगर्नुका साथै गाईभैँसी र कुखुराको गोठे मल प्रयोग गरेर आर्गनिक तरकारी उत्पादन गर्दा बजारमा आफ्नो तरकारीको माग निकै बढी हुने गरेको उनी बताउँछन् ।

न्यौपाने एग्रिकल्चर पशुपक्षी तथा कृषि फार्म दर्ता गरेर तरकारी खेतीमा लागेका न्यापानेले हिउँदमा सिँचाइको व्यवस्थापन गर्न नजिकैको पाटीखोलाबाट पाइपमा पानी ल्याएका छन् । गोरखापत्र दैनिकबाट।