बदनाम बन्दै, डाक्टर उत्पादन गर्ने थलो

काठमाडौं । डाक्टर उत्पादन गर्ने थलो मेडिकल कलेज अहिले आन्दोलनले थला परेको छ । मेडिकल कलेजले विद्यार्थीबाट करोडौं रुपैयाँ अतिरिक्त शुल्क लिएपछि विद्यार्थीहरूले विकल्पको रूपमा सडक रोजेका छन् । देशभर सरकारी र निजी गरी २२ मेडिकल कलेज छन् ।

आन्दोलनकै कारण देशभरका प्रायः मेडिकल कलेजमा पठनपाठन प्रभावित बनेको छ भने चारवटा मेडिकल कलेजको पढाइ ठप्प छ । वीरगन्जस्थित नेसनल मेडिकल कलेज, चितवन मेडिकल कलेज, भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र कास्कीस्थित गण्डकी मेडिकल कलेजमा पठनपाठन हुन सकेको छैन ।

सरकारले दिएको अल्टिमेटम सोमबार सकिँदै छ । सोमबारसम्म शुल्क फिर्ता नगरे मन्त्रिपरिषद्को निर्णयअनुसार कलेज सञ्चालकहरूलाई स्थानीय प्रशासनमार्फत कारबाही प्रक्रिया अघि बढाउने भनिएको छ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगका प्रवक्ता हरि लम्सालले तोकिएको भन्दा बढी शुल्क असुल्न नमिल्ने बताए ।

देशभर रहेका १२ मेडिकल कलेजले २ अर्ब ८५ करोड रुपैयाँ ठगी गरेको निष्कर्ष निकालिसकेको छ । ती मेडिकल कलेजमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सूक्ष्म अध्ययन अघि बढाएको छ । सरकारले पटकपटक अतिरिक्त शुल्क असुलेका मेडिकल कलेजलाई कारबाहीको दायरामा ल्याउन भने पनि कार्यान्वयनमा आउन सकेको छैन ।

कास्कीको गण्डकी मेडिकल कलेजमा विद्यार्थीको आन्दोलन ११ दिनदेखि जारी छ । तालाबन्दीका कारण पढाइ हुन सकेको छैन । गत फागुनदेखि शुल्क फिर्ता माग गर्दै विद्यार्थीले आन्दोलन सुरु गरेका थिए ।
पटकपटक शुल्क फिर्ता गर्ने सहमतिमा आन्दोलन स्थगित भए पनि विद्यार्थीले कलेजले लिएको बढी रकम पाएका छैनन् । विद्यार्थीको आन्दोलनकै कारण चिकित्सा शिक्षा अध्ययन संस्थान आईओएमले लिने वार्षिक परीक्षा पनि स्थगित गरिएको छ । २० कात्तिकदेखि सुरु हुनुपर्ने परीक्षा एक महिना पर सारिएको हो ।

—डाक्टर पढ्ने विद्यार्थी एक वर्षदेखि सडकमा
आज चितवनमा विद्यार्थीको प्रदर्शन
—सरकारले दिएको अल्टिमेटम भोलि सकिँदैं
३ अर्ब ठगी, कारबाही निष्प्रभावी

यसैबीच, अतिरिक्त शुल्क फिर्ताको माग गर्दै चितवनका विद्यार्थीले आइतबार अभिभावकसहित प्रदर्शनको तयारी गरेका छन् । गण्डकी मेडिकल कलेजमा पनि आन्दोलन नरोकिएको विद्यार्थी अनित सिन्हाले बताए ।

प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजले एमबीबीएस र बीडीएसको पढाइका नाममा २ अर्ब ८५ करोड रुपैयाँ गैरकानुनी रूपमा अतिरिक्त शुल्क असुली गरेको ठहर गरेको थियो ।

छानबिनका क्रममा मेडिकल कलेजहरूले प्रतिविद्यार्थी २ लाखदेखि २५ लाख ४१ हजार रुपैयाँसम्म अतिरिक्त शुल्क उठाउने गरेको पाइएको छ ।

नेपालमा चिकित्सा शिक्षाको विकास नयाँ शिक्षा योजनाको कार्यान्वयनसँगै त्रिभुवन विश्विद्यालयअन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थानको स्थापना भएको हो ।

नेपालका मेडिकल कलेजहरूको शुल्क, सम्बन्धन र गुणस्तरका सम्बन्धमा समीक्षा र पुनरावलोकन गर्न उच्चस्तरीय समिति २०६८’ गठन भएको थियो । सो समितिले सरकारलाई प्रतिवेदन बुझाउँदै शुल्क, सम्बन्धन र गुणस्तरका बारेमा सरकारलाई सुझाव दिएको थियो ।

समितिको प्रतिवेदनले चार बर्षे एमबीबीएस अध्ययनमा प्रतिविद्यार्थी २७ लाख ४२ हजार दुई १४ रुपैयाँ शुल्क कार्यान्वयन गर्दा कलेजलाई राम्रै मुनाफा हुने ठहर गरेको थियो । त्यस्तै, सम्बन्धन र सिट निर्धारणमा पनि भौतिक पूर्वाधार र फ्याकल्टी हेरेर मात्र दिनुपर्ने सुझाव दिएको थियो ।

शिक्षा मन्त्रालयको शुल्क अध्ययन समितिले त्यसबेला एमबीबीएस पढ्न ३१ लाख रुपैयाँ शुल्क लिन पाउने सिफारिस गरेको थियो । सो सिफारिस कार्यान्वयन नभइरहेको अवस्थामा मन्त्रिपरिषद्ले पछिल्लो प्रतिवेदन पनि थन्काएरै राख्यो । अनशनकै बलमा सरकारले मेडिकल कलेजहरूको बेथिति अन्त्य गर्न भन्दै २०७१ सालमा प्राडा केदारभक्त माथेमाको संयोजकत्वमा आठ सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरेको थियो ।

माथेमा प्रतिवेदनले शुल्क, सम्बन्धन, सिट निर्धारणलगायतका आठ बुँदामा सरकारलाई सुझाव दिएको थियो । सुझावमा एमबीबीएस तहको कार्यक्रमको शुल्क अधिकतम ३५ लाख रुपैयाँ तोक्ने र यसलाई दामासाहीले वार्षिक रूपमा लिने व्यवस्था गर्ने भनियो । तर, मेडिकल कलेजहरूले सो शुल्क कार्यान्वयन नगरेपछि चिकित्सा शिक्षा शुल्क विवादले उग्र रूप लिँदै गएको पाइएको छ ।

माथेमा आयोगको प्रतिवेदनलाई कार्यान्वयन गराउनुपर्ने भन्दै प्राध्यापक डा। गोविन्द केसी पटकपटक अनशन बसेका थिए । केसीको अनशनबाट चिकित्सा क्षेत्रमा भएका सुधारमध्ये शुल्क निर्धारण पनि प्रमुख थियो । चिकित्सा शास्त्र शुल्क निर्धारण समितिले उपत्यकाभित्र एमबीबीएसतर्फ ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ५० हजार शुल्क तोकेको छ ।

त्यस्तै, बीडीएसतर्फ १९ लाख ३२ हजार ६१२ रुपैयाँ निर्धारण गरेको थियो । विद्यार्थीहरूको आन्दोलन चर्किदै गएपछि काउन्सिलले त्रिविका उपकुलपतिलाई २२ फागुनमा पत्राचार गरेर शुल्कको समस्या रहेका अन्य मेडिकल कलेजहरूलाई कारबाही अगाडि बढाउन निर्देशन दिएको थियो । तर, त्रिभुवन विश्वविद्यालयले सो समयमा कार्यान्वयनमा चासो नदेखाएपछि विद्यार्थीहरू आन्दोलनमा छन् ।

मेडिकल कलेज हाताबाटै पेस्तोल बरामद

चितवन मेडिकल कलेजको हाताबाट दुई थान गोलीसहित पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवन प्रहरी प्रवक्ता डीएसपी एकनारायण कोइरालाका अनुसार कलेजको होस्टेल कम्पान्डभित्र टीटी बल खेल्ने स्थाननजिकैबाट कपडाको झोलामा बेवारिसे अवस्थामा रहेको दुई थान गोली भएको पेस्तोल बरामद भएको हो । यसबारे सोधपुछका लागि कलेजका पाँच गार्डलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन प्रहरी प्रवक्ता कोइरालाले भने, ‘यो घटनामाथि थप अनुसन्धान भइरहेको छ । हामीले सोधपुछका लागि गार्डहरूलाई जिल्ला प्रहरी कार्यालय चितवनमा बोलाएका छौं ।’
यस्तै, विद्यार्थीहरूले आज आइतबार तोकिएको विशाल प्रदर्शन कार्यक्रमलाई तुहाउन प्रहरी र कलेज प्रशासनले षड्यन्त्र रचेको बताएका छन् । विद्यार्थी कला अधिकारीले मेडिकल कलेजले आन्दोलन हुन नदिन अनावश्यक बखेडा झिकेको बताइन् । उनले भनिन्, ‘शनिबार तीन बजेतिर प्रहरी एक्कासि टीटी खेल्ने ठाउँतर्फ गए । सेक्युरिटी गार्डले नभेटाएको कसरी प्रहरीले भेटायो ।यो समचार आजको राजधानी दैनिकमा ’प्रशान्त वलीले लेखेका हुन ।