मंसिर ६ गतेदेखि भरतपुरमा चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुने


चितवन । ‘कृषिको रुपान्तरण, कृषिमा यान्त्रीकरण’ भन्ने मूल नाराका साथ चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ यहि मंसिर ६ गतेदेखि चितवनको भरतपुरमा हुने भएको छ । मंसिर ६ गतेदेखि ९ गतेसम्म चितवन एक्स्पो सेन्टर भरतपुरमा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीको आयोजकको रुपमा नेपाल कृषि मेशिनरी व्यवसायी संघ, नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,भूमी व्यबस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ३ रहेका छन् ।

प्रदर्शनी स्थलमा तयारी तीब्र पारिएको आज ९बुधवार० पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । पत्रकार सम्मेलनमा नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष स्वयम्भु कृष्ण श्रेष्ठले प्रदर्शनीको तयारी तिब्र गतिमा अगाडी बढेको जानकारी दिए। उनले एकै थलोमा कृषि सम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, यन्त्र उपकरणहरु तथा सेवाका वारेमा जानकारी लिन सकिने बताए ।

प्रदर्शनीमा २० भन्दा बढी देशको सहभागिता रहनुको साथै १०० भन्दा बढि स्टल रहने संघका महासचिव कृष्ण शर्माले जानकारी दिए । उनले २ हजार भन्दा बढि प्रकारका कृषि यन्त्र औजार र उपकरण प्रदर्शन गरी ३५ हजार बढिलाई अवलोकन गराउने लक्ष्य रहेको बताए।
लक्षित बर्ग कृषक, नीति निर्माता, उद्यमी, व्यवसायी, सरकारी एवं गैह्र सरकारी सस्थांहरु, कृषक समुह, कृषि सहकारी सस्थां वैज्ञानिक, शिक्षक तथा विद्यार्थीहरुले नेपालमा भित्रीएका कृषि यन्त्र र उपकरणहरुको बारेमा जानकारी लिउन भन्ने उदेश्यले अवलोकनको लागि निशुल्क व्यवस्था गरिएको आयोजकको भनाई छ । चितवनको नारायणघाट बाट सुरुवात भएको पहिलो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी दोस्रो बाकेंको कोहलपुर र तेस्रो धरान सुनसरी हुदै चौथो प्रदर्शनी चितवनकै एक्स्पो सेन्टरमा हुन लागेको हो । प्रर्दशनीमा ७० जिल्लाका अवलोकनकर्ता सहभागी हुने र १० करोडभन्दा बढिको कारोबार हुने आयोजकको अपेक्षा छ ।