भारतले कालापानीवरै पनि मन्दिर बनाउन दिएन

‘भगवान् तो एक ही हे, तुम को कितना भगवान् चाहिए भन्दै फर्काइदिए’

भारतीय पक्षले महाकाली नदीवारि नेपालको कालापानीतर्फ आउजाउ गर्न बनाएको पुल र त्यहाँ राखेको सैन्य ब्यारेक । तस्बिर :मनोज बडू/कान्तिपुर
मनोज बडू/ दार्चुला/ भारतीय पक्षले महाकाली नदीवारि आएर सैन्य शिविर खडा गरेको कालापानी क्षेत्र स्थानीय ब्यासी ९सौका० समुदायको परम्परागत पवित्र भूमि हो । तर त्यहाँ उनीहरूलाई प्रवेश निषेध छ ।

त्यसैले उनीहरूले अतिक्रमित क्षेत्रभन्दा करिब २ सय मिटरवरै एउटा मन्दिर बनाउन चाहे । त्यसको निर्माणमा पनि भारतीय सुरक्षाकर्मीले अवरोध खडा गरेका छन् । कालापानी दार्चुलाको सबभन्दा उत्तरी ब्यास गाउँपालिका, वडा नम्बर १ मा पर्छ । त्यसमुन्तिरको पहिलो गाउँ छाङरुका बासिन्दालाई पूजा गर्न सजिलो होस् भनेर कालापानीमा काली मन्दिर बनाउन ब्यास गाउँपालिकाले ४ लाख रुपैयाँ विनियोजन गरेको छ ।

स्थानीयले भारतीय अर्धसैन्य बलको अतिक्रमणमा परेको क्षेत्रभन्दा २ सय मिटरवरै मन्दिर बनाउन खोजेका हुन् । मन्दिर निर्माण थाल्नुअघि उनीहरू कालापानीमा रहेका भारतीय सुरक्षाकर्मीलाई त्यसबारे जानकारी दिन गएका थिए । काम थालिसकेपछि समस्या उत्पन्न हुन सक्ने आशंकामा आफूहरू सीमामा तैनाथ भारतीय सुरक्षाकर्मीलाई सोध्न गएको उनीहरूको भनाइ छ ।

‘सुरुमा कालापानीमा रहेका भारतीय सुरक्षाकर्मीका इन्चार्जले सकारात्मक कुरा गरेका थिए,’ मन्दिर निर्माण समितिका अध्यक्ष अमरसिंह ऐतवालले कान्तिपुरसित भने, ‘केही छिनपछि अर्कै ठाउँमा फोन गरेर सोधेपछि हुन्न भने ।’

भारतीय सुरक्षाकर्मीका इन्चार्जको भनाइ उद्धृत गर्दै ऐतवालले सुनाए, ‘भगवान् तो एक ही हे, तुम को कितना भगवान् चाहिए भन्दै हामीलाई फर्काइदिए ।’

भारतीय पक्षले मिच्दै आएको कालापानी क्षेत्रको नेपाली भूमिभन्दा करिब २ सय मिटरवरै छाङरुका बासिन्दाले कालीको मन्दिर बनाउन खोजेको ऐतवालले बताए ।

मन्दिर बनाउन स्थानीय बासिन्दाका चार जना प्रतिनिधि गत भदौ अन्तिम साता भारतीय सुरक्षाकर्मीलाई सोध्न गएका थिए । ‘दुई देशको कुरा हो । सीमा क्षेत्रमा मन्दिर बनाउन मिल्दैन भन्यो,’ अध्यक्ष ऐतवालसँगै गएका स्थानीय रामसिंह बोहराले भने, ‘उल्टै हामी चारै जनाको बहुयात्रा अनुमतिपत्र, फोटो र बुबाको नामसमेत टिपेर राखेको छ ।’

छाङरुका बासिन्दालाई अहिले उक्त क्षेत्रमा जान पनि भारतीय पक्षले व्यवधान पुर्‍याउँदै आइरहेका छन् । ‘भारतले नक्कली बनाएको काली नदीभन्दा करिब आधा किलोमिटर क्षेत्रसम्म घेरबार गरेको छ,’ बोहराले भने, ‘त्यसभन्दा पनि करिब २ सय मिटरवरै मन्दिर बनाउने हाम्रो सोचाइ थियो, बनाउन दिएनन् ।’

गत साता सरुवा भएर आएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले आफूलाई यसबारे जानकारी नभएको बताए । ‘मलाई कसैबाट सेयर भएको छैन । भोलि बुझ्छु,’ पौडेलले भने ।

समितिका अध्यक्ष ऐतवालले प्रशासन कार्यालयबाट स्पष्ट सल्लाह नपाइएकाले मन्दिर बनाउने विषय तत्कालका लागि छाडिएको बताए । ‘सीडीओ कार्यालयबाट माथि कुरा गर्छौं भने । तर केही निर्णय दिएनन्,’ उनले भने, ‘सरकारी निकायबाटै केही निर्क्योल नआएपछि हामीले पनि कुरा गर्नै छाड्यौं ।’

ब्यास गाउँपालिकाले पनि उक्त क्षेत्रमा मन्दिर निर्माणमा भारतीय पक्षले अवरोध गरेपछि जिल्ला प्रशासनलाई शान्तिसुरक्षाका लागि जानकारी गराएको थियो । जिल्ला प्रशासनले कालापानी र सुस्ताको सीमा समस्या माथिल्लो निकायबाटै हल गरिने भएकाले विवादित क्षेत्रमा अहिले मन्दिर नबनाएकै राम्रो हुने सुझाव दिएको स्रोतले जनायो ।

कालापानी क्षेत्रमा हाल ठूलो संख्यामा भारतीय सुरक्षाकर्मी परिचालित छन् । कालापानीमा रहेको पुरानो काली मन्दिर नजिकै उनीहरूको क्याम्प छ । कान्तिपुरबाट