महिलाको तस्वीरका कारण पाइलटलाई विमान उडाउन प्रतिबन्ध

बेइजिङ । आफूले उडाइरहेको विमानको ककपिटमा एक महिला यात्रु बसिरहेको एउटा तस्वीर भाइरल हुन पुगेपछि एकजना चिनियाँ पाइलटमाथि विमान उडाउन प्रतिबन्ध लगाइएको छ ।

चिनियाँ सरकारी समाचार निकाय सिन्ह्वाले गत जनवरीमा गुइलिन शहरबाट एयर गुइलिन उडानमा याँगझोउ शहरतर्फ उड्ने क्रममा सो तस्वीर लिइएको खुलासा गरेको छ तर यसै सातामात्र उक्त तस्वीर सामाजिक सन्जालमार्फत भाइरल हुन थालेपछि एयरलाइन्स पाइलटलाई कारबाही गर्न बाध्य भएको बताइएको छ ।

तस्वीरमा ककपिटमा पोज दिएर बसेकी ती परिचय नखुलाइएकी महिलाको छेउमा खानपिनका सामानहरु राखिएको देखिन्छ । एयर गुइलिनले एक औपचारिक विज्ञप्तिमार्फत पाइलटले उडानका दौरान सुरक्षा नीति, नियम उल्लंघन गरेको तथ्य स्विकारेको छ ।

आफ्नो औंलाले ‘भि’ संकेत दिएर तस्वीरका लागि पोज दिएकी ती महिलाले क्याप्सनमा लेखेकी छिन्, ‘धन्यावाद क्याप्टेन । धेरै खुसी लागेको छ ।’

यो खबर नेपाल समाचारपत्रले एजेन्सीको सहयोगमा अनुवाद गरेर प्रकाशित गरेको छ ।