सेनाका मेजर नै लागूऔषधसहित पक्राउ

श्रावण २६, काठमाडौं । सेनाका एक मेजर लागूऔषधसहित पक्राउ परेका छन् । कैलालीको धनगढी घर भइ नेपाली सेनाको पूर्वी पृतनालय इटहरीमा कार्यरत सेनानी अजितप्रताप सिंहलाई प्रहरीले ब्राउन सुगरसहित इटहरी–२ बाट पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले सिंहको साथबाट डेढ ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको बताए।

उनले सिंह नेपाली सेनाको भए नभएको सोधपुछ गर्न बाँकी रहेको र अनुसन्धान भइरहेको बताए। तर प्रदेश १ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले सिंह नेपाली सेनाको सेनानी भएको जानकारी पाएको बताए।

सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले लागूऔषधसहित सैन्य अधिकारी पक्राउ भएको पुष्टि भए सैनिक ऐन अनुसार कारबाही हुने बताए। त्यस्ता घटनाहरुमा कोर्ट अफ इन्काइरी घटन हुने र समरी सैनिक अदालतले कारबाही गर्ने प्रावधान रहेको प्रवक्ता पाण्डेले जानकारी दिए। उनले गैरकानूनी क्रियाकलापमा संलग्न हुने सैन्य अधिकारीहरुको डिमोसनसमेत हुन सक्ने बताए। कान्तिपुरबाट ।