काठमाडौंमा मोटरसाईकल हराउने, चितवनमा किनबेच हुने , यस्तो छ संजाल

श्रावण १३, काठमाडौं । काठमाडौं जोरपाटीबाट धु्रवकुमार लामिछानेको मोटरसाइकल चोरी भयो। सडकमा पार्किङ गरेको नयाँ पल्सर मोटरसाइकल चोरी भएपछि उनी चिन्तित नहुने कुरै भएन।

उनले तत्कालै १०० मा फोन गरेर चोरीको जानकारी गराए। उनी बौद्ध प्रहरीमा पुगे। बौद्ध प्रहरीले मोटरसाइकल खोजीका लागि महानगरीय ट्राफिक महाशाखामा जान सुझायो।

उनले मोटरसाइकलको इन्जिन र च्यासिस नम्बरसहित महाशाखामा उजुरी दिए। गत असार १० गते चोरिएको उनको मोटरसाइकल चितवनमा भेटियो। महाशाखाको सइ रमेश बजगाइँको टोलीले चितवन पुगेर अपरेसन गर्दा त्यहाँ मोटरसाइकल चोर्ने गिरोह नै सक्रिय रहेको पायो।

गिरोहका सदस्यमध्ये एक थिए, मिलन भन्ने धनबहादुर योञ्जन। उनी यसअघि पनि काठमाडौंमा मोटरसाइकल चोरीकै आरोपमा पक्राउ परी धरौटी तिरेर छुटेका पटकेचोर हुन्।

उनीसँगै मोरङ रंगेलीका सुरज भुषाल र सिन्धुपाल्चोक लिसंखुका सोनाम लामासमेत पक्राउ परे। दुवै पटकेचोर रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार काठमाडौंबाट चोरी भएका ९० प्रतिशत मोटरसाइकल चितवन पुग्छन्। त्यहीं तिनको खरिदबिक्री हुन्छ। चोरले अहिले चोर्ने शैली फेरेको पाइएको छ। महाशाखा प्रमुख एसएसपी बसन्त पन्तका अनुसार अहिले चोरले नयाँ मोटरसाइकल चोर्ने र त्यसको पार्टपुर्जा मात्र झिकेर बेच्न थालेका छन्।

‘काठमाडौंबाट चोरी भएको मोटरसाइकलको खोजी गर्न टोली चितवन पठायौं, त्यहाँ अनुसन्धान गर्दा छक्क परियो’, उनले भने, ‘चोरले मोटरसाइकलको पार्टस् मात्र बेचेको पाइयो।’ उनका अनुसार पुराना लटका मोटरसाइकल धनीले केही वर्कसपको सम्पर्कमा चोरका गिरोहबाट नयाँ मोटरसाइकलका पार्टस् किन्ने गरेका छन्।

लामिछानेको मात्र होइन ललितपुर महालक्ष्मीस्थानबाट चोरिएको जीवन पोखरेलको मोटरसाइकल पनि चितवनबाटै प्रहरीले बरामद गरेको छ।

महाशाखामा एक महिनाको अभिलेख हेर्ने हो भने काठमाडौं उपत्यकाबाट १ सय ५३ मोटरसाइकल चोरी भएको उजुरी परेको छ। तीमध्ये प्रहरीले २८ वटा फेला पारेर धनीको जिम्मा लगाएको छ। चोरीमा संलग्न २० लाई पक्राउ गरेको महाशाखाले जनाएको छ।

महाशाखाले यसअघि सिन्धुपाल्चोकमा छुट्टै अपरेसन गरेको थियो। त्यहाँ गिरोहले पार्टपुर्जा निकालेर इन्जिन र च्यासिस डोजर लगाएर पुरेको फेला परेको एसएसपी पन्तले दिए।

चितवन प्रहरीले पनि चोरगिरोह पक्रन अपरेसन चलाएको छ। चितवन प्रहरीको टोलीले असारमै शारदानगर रानीपोखरीस्थित रोहित मोटरसाइकल वर्कसपमा छापा मार्दा २६ मोटरसाइकल, इन्जिन नभएका ८ च्यासिस, ५३ नक्कली ब्लु बुक बरामद गरेको थियो।

चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले चितवनमा मोटरसाइकल चोरगिरोह रहेको सूचनाका आधारमा छुट्टै टोली बनाएर अपरेसन गर्दै आएको बताए।

उनले भने, ‘हामीले सकेसम्म चोरगिरोह समातेका छौं। अहिले धेरै वर्कसप र पार्टपुर्जा फेरिएका मोटरसाइकलको निगरानी बढाएका छौं।’ मोटरसाइकल चोरेर पार्टपुर्जा मात्र बेच्ने र इन्जिन÷च्यासिस नम्बर गायब बनाउँदा अनुसन्धान जटिल हुने बताए।

अहिले उपत्यकाबाट दैनिक बढीमा ८ वटा मोटरसाइकल चोरी भएको उजुरी महाशाखामा पर्ने गरेको छ। पन्तले भने, ‘चितवनको अपरेसनपछि अहिले मोटरसाइकल चोरी घटेको पाएका छौं, उजुरी पनि घटेका छन्। यो अपरेसनअघि दैनिक कम्तीमा ८ उजुरी पर्थे।’

चोरीका मोटरसाइकलको पार्टपुर्जा किनेर फेरेको पुष्टी भए प्रहरीले अहिले त्यस्ता सवारीधनीलाई स्वरूप परिवर्तनको मुद्दा चलाउँदै आएको छ। उपत्यकाबाट चोरी हुने मोटरसाइकलमध्ये बजाज कम्पनीका धेरै छन्। विशेषगरि चोरको निसानामा पल्सर मोटरसाइकल पर्दै आएको छ।

महाशाखामा असार यता परेका चोरीको निवेदन १ सय ५३ मध्ये १ सय ३० पल्सर मोटसाइकल नै छन्। चोरले ‘टी’ आकारको फलामे हुक बनाएर सजिलै मोटरसाइकलको लक फोडेर चोरी गर्दैै आएका छन्।

प्रहरीले चितवनबाट समातेका ५ जनाबाट पनि फलामे हुक र नक्कली बिल बुक बरामद गरेको छ। अन्नपूर्णबाट ।