चीनको आर्थिक तथा प्राविधिक सहयोगमा १० अर्ब डलरको रेल परियोजना सुरु

श्रावण १०, काठमाडौं । चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको रेल परियोजना बिहीबारदेखि पुनः सुरु भएको छ । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले सो परियोजनामा भ्रष्टाचार भएको र मुलुक ऋणको चपेटामा पर्ने भन्दै ६४० किलोमिटर लामो यो रेल परियोजना स्थगित गरेका थिए ।

रेल निर्माणमा केही प्राविधिक फेरबदल र लागत कटौती गरेसँगै करिब १० अर्ब डलरको सो परियोजना बिहीबारदेखि विधिवत् रूपमा सुरु भएको हो । यो रेलमार्गले थाइल्यान्डसँगको सीमानजिकको उत्तरपूर्वी मलेसियालाई पश्चिमको प्रमुख बन्दरगाह सहर मलक्कालाई जोड्नेछ । मलेसियाका यातायात मन्त्री एन्थोनी लोकले रेल निर्माणको शिलान्यास गर्दै यस परियोजनाले मलेसियाको पूर्वीक्षेत्रका ग्रामीण इलाकाको सार्वजनिक यातायातमा व्यापक सुधार ल्याउने विश्वास व्यक्त गरे ।

चीनको महत्वाकाँक्षी बेल्ट एन्ड रोड ९बीआरआई० परियोजनाकै एक भागका रूपमा लिइएको यस परियोजनालाई मलेसियाको वर्तमान सरकारले रोकेको थियो । मलेसियाको पूर्ववर्ती सरकारसँग भएका यस्तै परियोजनालाई मलेसिया सरकारले कार्यान्वयनमा ल्याएको छैन । चिनियाँ लगानीका सबैजसो परियोजनामा पारदर्शिताको कमी रहेको आलोचकको भनाइ छ ।

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकमाथि चिनियाँ सहयोगका परियोजना स्वीकृत गर्दा ठूलो रकम भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ । इस्ट कोस्ट रेलसेवा पुनर्निर्माण आरम्भ गर्ने बारेमा मलेसिया र चीन सरकारबीच लामो समयदेखि छलफल जारी थियो । गत अप्रिलमा लागत घटाउने र रेलसेवाको दूरीलाई पनि समायोजन गर्ने सहमति भएपछि रेल निर्माणको कार्य अघि बढेको हो । अब रेल निर्माणकार्य सन् २०२६ सम्ममा पूरा हुनेछ । मलेसियाको पूर्वी तटीय क्षेत्र अन्य इलाकाभन्दा निकै गरिब छ । राजधानीबाट ।