क्रिकेट रंगशाला निर्माणको लागि दुई दिनमा ८० लाख जुट्यो

श्रावण १०, काठमाडौं । दुई महिनासम्म निर्माणको काम रोकिएर काम सुरु भएको चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरु गरिएको दुई दिनमा ८१ लाख ६१ हजार एक सय १० रुपैयाँ सहयोग प्राप्त भएको छ ।

उद्योग वाणिज्य संघ चितवनले क्रिकेट रंगशालालाई ५५ लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । संघका अध्यक्ष सहनलाल प्रधानले रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेललाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।

राष्ट्रकै गौरवको परियोजना भएकाले संघले संस्थागत रूपमा सहयोग गरेको बताउँदै अध्यक्ष प्रधानले रंगशाला निर्माणले चितवन जिल्लाको समग्र विकासका साथै देशकै छवि वृद्धि गर्न सहयोग पुग्ने बताए ।

यसैगरी, पूर्वेली समाजले संस्थागत रूपमा ५ लाख, पूर्वेली समाजकै सदस्य कुमार डाँगीले ५ लाख, भरतपुर महानगरपालिका–१२ का वडाध्यक्ष नरेन्द्र कन्दङ्वाले १ लाख ३५ हजार, घिमिरे ब्रर्दश एन्ड सप्लार्यसका शिव घिमिरेले १ लाख ५ हजार सहयोग गरेका छन् ।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा।तिलचन्द्र भट्टराई र उनकी पत्नी प्रा।डा। शारदा थपलियाले निर्माणाधीन क्रिकेट रंगशाला निर्माणका लागि १० लाख रुपैयाँ सहयोग गरेका छन् । यसैगरी, जिल्ला क्रिकेट संघ चितवनको तर्फबाट दुई लाख ५ हजार ५५५ रुपैयाँ फाउन्डेसनलाई सहयोग भएको छ ।

रंगशाला निर्माणका लागि चितवन बासीले फाउन्डेसनलाई दरिलो साथ दिएका छन् । प्रत्येक स्थानीय तहले सहयोग समितिसमेत गठन गरेर कामअघि बढाएका छन् । चितवनको रत्ननगर,खैरहनी, कालिका र राप्ती नगरपालिका र इच्छा कामना गाउँपालिकामा सहयोग समिति गठन हुने धुर्र्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए ।

चितवन जिल्लावासीको उत्साहपूर्ण साथ सहयोगले हौसला मिलेको बताउँदै फाउन्डेसनका अध्यक्ष कट्टेलले सबै स्थानीय तहमा सहयोग समिति गठन र सहयोग रकम संकलनले रंगशाला बनाउने कामलाई उत्साह थपेको बताए ।

भरतपुर महानगरपालिका– १५ मा निर्माणधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण पूरा गर्न सहज वातावरण बनेको भन्दै दुई महिनादेखि रोकिएको काम फाउन्डेसनले फेरि सुरु गरिसकेको छ । बन्द भएको फिल्ड कार्यालय खोलेर रंगशालाको फिल्डमा गर्न मिल्ने काम गर्न सुरु गरिसकेको छ । राजधानीबाट ।