देशका दर्जनौं मुख्य सडक अवरुद्ध, कान्तिपथमा मात्र ५१ ठाउँमा अवरोध

श्रावण ९, काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ दर्जन बढी मुख्य सडक अवरुद्ध भएका छन् । ग्रामीण इलाकामा जथाभावी खनिएका अनगिन्ती सडकमा पनि बाढी र पहिरोले क्षति पु¥याएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागका अनुसार बुधबार देशका ६ दर्जन बढी ठाउँमा बाढी र पहिरोका कारण सडक अवरुद्ध छ ।
देशभर मंगलबार विभिन्न सडकका १७ मुख्य ठाउँमा सडक अवरुद्ध भएको थियो । गत शनिबार भने ६१ स्थानमा सडक अवरुद्ध थियो । वर्षापछिको बाढी र पहिरोबाट गत १ साउनमा महेन्द्र राजमार्ग, त्रिभुवन राजपथ, बीपी राजमार्ग, मध्यपहाडी राजमार्ग, कान्तिपथलगायत दर्जन स्थानमा सडक अवरुद्ध भएकोमा त्यसको भोलिपल्ट २ साउनमा देशका विभिन्न ५३ स्थानमा सडक अवरुद्ध भएको थियो ।

सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले अवरुद्ध भएका सडकहरू छिटो खुलाउन निरन्तर रूपमा लागिरहेको बताए । ‘हामीले मनसुन सुरु नहुँदै जेठदेखि नै हाम्रा सबै निर्माण सामग्री तयारी अवस्थामा राखेर काम गरिरहेका छौं,’ प्रवक्ता सापकोटाले भने, ‘पहिलो प्राथमिकता सडक अवरुद्ध भएमा छिटोभन्दा छिटो कसरी खुलाउने भन्नेमा हुन्छ, त्यसमा सुरक्षाकर्मीलगायत हामी सबै निरन्तर लागिरहेका छौं ।’
ग्रामीण क्षेत्रमा इन्जिनियरिङ नै नगरी जथाभावी रूपमा खोलिएका कच्ची सडकले राम्रो सडकलाई पनि बिगारिरहेको समेत उनले बताए । ‘ठाउँठाउँमा अनुमति नै नलिई जथाभावी सडक खोलिएका छन्, तिनले पनि राम्रा सडकलाई असर गरिरहेको छ, यसको व्यवस्थापन गर्नैपर्ने देखिएको छ’, उनले भने ।

जथाभावी खोलिएका सडकले मुख्य र राम्रा सडकमा क्षति

सडक विभागको बुधबारको तथ्यांकअनुसार मिर्चैया–कटारी–घुर्मी सडकखण्ड गएको पहिरोका कारण २६ असारदेखि अवरुद्ध छ । अझै सडक सुचारु हुन चार÷पाँच दिन लाग्ने सडक विभागले जनाएको छ । ललितपुरको गोदावरी–फुलचोकी सडक पनि २८ असारदेखि बन्द छ । सडक विभागले केही ठाउँमा सुचारु भए पनि केही ठाउँमा बन्द रहेको जनाएको छ । ललितपुरकै छम्पी–टीकाभैरवमा पनि पहिरो आएर २८ असारदेखि सडक अवरुद्ध छ । ललितपुरकै सातदोबाटो, सुमेरु हस्पिटल नजिकै सडक भासिएर एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ ।
रुकुमको भेरी करिडोरको पिपे भन्ने ठाउँमा पनि पहिरो गएको छ । पानी रोकिएमा तीन÷चार घण्टामा अवरोध हट्ने जनाइएको छ ।
सुर्खेतको तल्लो ढुंगेश्वर सिपाकोटमा आठ किमीको सडकमा बुधबार पहिरो गएर सडक अवरोध भएको छ । पूर्ण रूपमा बाटो खुल्न दुई दिन लाग्नेछ । पुष्पलालाल ९मध्यपहाडी० राजमार्गस्थित रुकुमकोटको रेलीखोला पुलको डाइभर्सनमा क्षति पुगेको छ । त्यस्तै, दोस्रो स्पानको स्टेजिंगको इमबेंकमेन्टमा पनि २८ असारदेखि क्षति पुग्दा अवरुद्ध छ । कान्ति लोकपथमा मात्रै वर्षापछिको बाढी पहिरोले ५१ ठाउँभन्दा बढी स्थानमा अवरोध सिर्जना भएको छ । मकवानपुर गढीमा २७ असारदेखि यातायात बन्द रहेको छ । करिब ९० किमि लामो कान्तिपथमा करिब ४० किमि कालोपत्रे छ भने अन्य भाग निर्माणधीन अवस्थामा छ । सोही सडकको ५१ स्थानमा पहिरोले अवरोध सिर्जना गरेको छ । बाढी र पहिरोले सडक अवरुद्ध भएपछि सडक निर्माणमा जान पनि समस्या रहेको सडक विभागका प्रवक्ता सापकोटाले जानकारी दिए । राजधानीबाट ।