विषादी परीक्षण रोक्न भारतीय दूतावासले पठाएको पत्र यस्तो थियो

काठमाडौं– विषादी परीक्षण सम्बन्धमा भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई काटेको पत्र के थियो भन्ने धेरैलाई लाग्न सक्छ ।

लैनचौरस्थित भारतीय दूतावासले भारतबाट नेपाल भित्रिने तरकारी एवं फलफूलमा विषादी परीक्षण सम्बन्धमा मन्त्रालयलाई पत्र काटेको हामीलाई प्राप्त भएको छ।

दूतावासले लेखेको सो पत्रमा भारतबाट नेपाल भित्रिने फलफूल तथा तरकारीमा रोक लगाएको नभइ विषादी परीक्षणमा मात्रै कडाइ गरिएको भनिएता पनि नेपाल सरकारको निर्णयले हल्लीखल्ली मच्चिएको थियो ।

नेपालमा फलफूल र तरकारी बेच्न नपाएको भन्दै भारतीय व्यापारीहरुले दूतावाससम्म गुनासो पुर्‍याएपछि भारतिय दूतावासले नेपाल सरकारलाई पत्र काटेको हो ।

राजदूतावासको पत्रमा ‘नेपाल सरकारका निकायहरूले सबै ताजा तरकारी तथा फलफूलको आयातमा वनस्पति क्वारेन्टाइन र विषादी स्तर पुनः परीक्षण लागू गरेको भन्ने विषयमा यस दूतावास अवगत नै छ ।’

पत्रमा भनिएको छ, ‘पुनः परीक्षणको आवश्यकता गैर कर अवरोध जस्तै हो र यसले व्यापार रोकिएको छ । साथै, अन्तर्राष्ट्रिय वनस्पति संरक्षण महासन्धिको फाइटोस्यानिटरी उपायबारे अन्तर्राष्ट्रिय मापदण्ड १३ अनुसार आयातकर्ता देशले निर्यातकर्ता देशलाई फाइटोस्यानिटरी आयातका प्रावधान पालना गर्नका लागि सूचना दिनुपर्दछ । यस घटनामा नेपाली निकायबाट यो व्यवस्था पालना भएन।’

भारत र नेपालबीच दशकौंदेखि कायम रहेका द्विपक्षीय व्यापार व्यवस्था अनुरूप नेपाल सरकारका सम्बन्धित निकायलाई यस पत्रमार्फत नेपाल भित्रिने तरकारी तथा फलफूलको विषादी चेकजाँच नगर्न सम्वन्धित मन्त्रालयलाई आग्रह गरिएको उल्लेख छ ।

पत्रमा दूतावासले सामग्रीको व्यापार रोकिने र भारतीय निर्यातकर्तालाई ठूलो घाटा लाग्ने गरी भएको गैरकर अवरोधको तत्काल कार्यान्वयनका लागि आवश्यक सूचना तथा कागजातसहित औचित्य पुष्टि गर्न मन्त्रालयलाई आग्रह समेत गरेको छ ।