कार्यालयमै मदिराले लठ्ठ गोर्खाका एसपी हटाइए

२० असार, काठमाडौं । गोरखाका प्रहरी प्रमुख उपरीक्षक ९एसपी० भोला रावल हटाइएका छन् । कार्यालयमै मदिरा सेवन गरेर लठ्ठ भेटिएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले उनलाई हटाएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार रावलको ठाउँमा एसपी ओम अधिकारीलाई खटाइएको छ । अधिकारी हाल महानगरीय अपराध अनुसन्धान महाशाखामा कार्यरत् छन् ।
मदिरामा लठ्ठ एसपी रावलले गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरेले फोन गर्दा उठाएनन् । सञ्चार सेटमार्फत सम्पर्क गर्न लगाएपछि उनले डीआईज शर्मालाई नै उल्टै अश्लील गाली गलौज गरेका थिए ।

प्रदेश प्रहरी कार्यालयबाट गएको एसएसपी हरिराज वाग्लेको निरीक्षण टोलीमाथि पनि रावलले दुर्व्यवहार गरेका थिए । चिकित्सक सहित कार्यालयमा पुगेको वाग्लेको टोलीले परीक्षण गर्दा रावलले मापसे गरेको प्रमाणित भएको थियो ।