ब्रम्हलुट नैं ब्रम्हलुट : सडक बनाउने बहानामा ढुंगा बिक्री

थानकोटबाट मकवानपुरको चित्लाङ जोड्ने सडक स्तरोन्नति क्रममा कानुनविपरीत वन क्षेत्रमा अत्यधिक दोहन गरिएको छ । थानकोटको गोदामदेखि चित्लाङसम्मको ६ किलोमिटर कच्ची सडकलाई स्तरोन्नति गर्ने क्रममा आवश्यकभन्दा बढी वन विनाश गरिएको हो ।

वातावरणीय पक्ष ख्यालै नगरी भीरमा जथाभावी डोजर चलाउँदा उक्त क्षेत्रमा पहिरोको जोखिम बढेको छ । मनसुन सुरु भइसकेकाले वर्षात्मा त्यहाँबाट बग्ने ढुंगा, माटो र गेग्रानले तल्लो क्षेत्रका बस्तीमा असर पुर्‍याउने भयले स्थानीय त्रस्त छन् ।

किरातेश्वर कन्स्ट्रक्सन ड्रिलिङ कम्पनी प्रालिले थानकोट–चित्लाङ सडक स्तरोन्नति गर्ने ठेक्का पाएको हो । सडक ९ मिटर चौडा गरिँदै छ । शनिबार त्यहाँ डोजर र स्काभेटर प्रयोग गरी बढी नै ढुंगा निकालिएको देखियो । ‘स्तरोन्नति गर्ने बहानामा ठेकेदारले दोहोरो फाइदा लिएका छन्,’ एक स्थानीयले कान्तिपुरसित भने, ‘बाटो खन्ने क्रममा निक्लिएका ढुंगा उनीहरूलाई फाइदा हो ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेका छन् ।