विद्यार्थीहरुलाई कुटेर हात भाँचीदिने शिक्षिकालाई १० दिन म्याद थपगरी अनुसन्धान सुरु


जेष्ठ २२, काठमाडौं । अन्धाधुन्ध विद्यार्थी कुटपिट गर्ने शिक्षिका लक्ष्मी पुनविरुद्ध प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीले पुनलाई मंगलबार सदरमुकाम लिबाङस्थित जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गराई अनुसन्धान सुरु गरेको हो । इलाका प्रहरी कार्यालय होलेरीका इञ्चार्ज प्रहरी निरीक्षक मेघनाथ चापागाइर्ंले अनुसन्धानपछि अदालतमा मुद्दा चलाइने जानकारी दिए ।

म्याद थपपछि पुनलाई मंगलबार करिब ६० किलोमिटर टाढाको इलाका प्रहरी कार्यालय होलेरीमै फर्काइएको छ ।

रुन्टीगढी गाउँपालिका९८ मगरगोरी झेनामस्थित भानु आधारभूत विद्यालयकी शिक्षिका पुनले जेठ १२ गते प्रार्थनापछि १४ विद्यार्थीमाथि कुटपिट गरेकी थिइन् । प्रधानाध्यापक झगबहादुर भण्डारी तालिममा गएकाले निमित्त प्रधानाध्यापक भएकै दिन पुनले विद्यार्थी कुटेकी थिइन् । घाइतेमध्ये भीमकुमारी बाँठामगर, निर्मला पुनमगर, गौरी घर्तीमगर, शान्ता नेपाली र विमला रोकाको हात भाँचिएको छ । घाइतेको उपचार दाङमा गरिएको छ भने अन्यको उपचार होलेरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको थियो । कुटपिटको आरोप लागेपछि शिक्षिका पुनलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको थियो ।

शिक्षिका पुन निजी स्रोतबाट नियुक्त भएकी हुन् । उनी विद्यालयमा लामो समयदेखि पढाउँदै आएकी थिइन् । स्थानीयका अनुसार उनले पहिले पनि विद्यार्थीमाथि कुटपिट गर्थिन् । उहाँ सधैं उग्र स्वभावकी देखिनुहुन्थ्यो, एक शिक्षकले भने ।

प्रहरी! जनप्रतिनिधिबाट मेलमिलाप

गाउँपालिका अध्यक्ष बालाराम बुढामगरले विद्यार्थी कुटपिटको घटनामा छलफलमार्फत मिलापत्र गराइएको बताए । घटनाबारे मैले १४ गते जानकारी पाएँ, उनले भने, त्यसपछि स्थानीय न्यायिक समितिमार्फत छलफल गराउने प्रयास भएको थियो ।उनका अनुसार पीडितले समितिमा उजुरी दिएका थिए । सम्बन्धित वडाका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर पुनमगर र प्रहरीसमेतको सक्रियता र उपस्थितिमा छलफल चलाइएको थियो । तर घटना गुपचुपमा राखिएको थियो ।

गाउँपालिकाका अध्यक्ष बुढामगरले घटनालाई गम्भीर रूपमा लिएको बताए । अब कानुनी कारबाही हुन्छ । शिक्षिकाले बालबालिका कुट्नुभएन, उनले भने । सुरुमा पीडित विद्यार्थीको उपचार खर्च शिक्षिकाले बेहोर्ने सर्तमा छलफल टुंगिएको थियो । छलफलमा सहभागी कांग्रेसका स्थानीय नेता जनक पुनले सुरुमा घटनालाई स्थानीयले सामान्य रूपमा लिएकाले छलफल चलाइएको बताए । जनप्रतिनिधि, प्रहरी, अभिभावक र शिक्षिका पुनबीच उपचार खर्च बेहोर्ने सर्तमा छलफल भएको थियो, उनले भने । कान्तिपुरबाट ।