जनप्रतिनिधिकै संरक्षणमा अवैध असुली

ललितपुरको बुंगमतीमा जनप्रतिनिधिकै संरक्षणमा अड्डा खडा गरी त्यहाँ गुड्ने सवारीसाधनमाथि रकम असुल गरिरहेको पाइएको छ ।

बुंगमतीको बाटो भई गुड्ने सवारीमा वडा २२ बुंगमतीका अध्यक्ष अम्बिरराज शाक्यकै मिलेमतोमा गएको मंसिरदेखि रकम उठाइरहेको पाइएको हो ।

ललितपुर महानगरपालिका–२२ फर्सिडोल–बुंगमती भई गुड्ने सवारीसाधनमा स्थानीय उमेश महर्जन र वीरेन्द्र महर्जनले वडा अध्यक्षकै संरक्षणमा एकलौटी ढंगले रकम असुल गरिरहेको ट्रिपर चालकहरुले बताएका छन् ।

सडक सुधार गर्ने बहानामा बुंगमती–फर्सिडोल सडक सरोकार समिति बनाई ठूलो ट्रिपर, सानो ट्रिपर र मिनी टाटा लाई आठ÷आठ सय रुपियाँ रकम उठाइरहेको छ । समिति बनाएर सडक सुधारका लागि बुंगमतीमा रकम उठाइएको विषयमा आफू जानकार रहेको वडा अध्यक्ष शाक्यले बताउनुभयो । ‘नगरको बजेट कम छ । ठूला सवारी गुडेपछि सडक छिनछिनमा मर्मत गरिरहनुपर्छ । त्यसका लागि व्यवसायी आफैँले पनि पहल गरी समिति बनाएर बाटो मर्मतकै लागि यस्तो गरिएको हो’, –उहाँले भन्नुभयो ।

‘अफिस नै राखेर रकम उठाएको छैन । यो गर्न मैले दिइएको छैन । हो, समिति छ तर बाटोमा बसेर पैसा उठाउँदैन’, उहाँले भन्नुभयो– ‘सडक सुधारका लागि व्यवसायी आफैँ महिना बितेपछि समितिलाई पैसा जम्मा गर्न आउँछन् ।’ वडा अध्यक्ष शाक्यले दिनुभएको अभिव्यक्तिले वडा अध्यक्षकै संलग्नता रहेको प्रस्ट हुन्छ । उहाँले भन्नुभयो–‘बुंगमतीको सडकमा पहिला ट्रिपर गुडेकै कारण सडक बिग्रेपछि ठूलै झगडा भयो । व्यवसायीकै अनुरोधमा समिति बनाएर रकम जम्मा हुने वातावरण बनेको हो ।’

९६ महिनादेखि अवैध धन्दा -प्रशासन मौन

व्यवसायी, राजनीतिक दलका प्रतिनिधि, स्थानीय रहने गरी समिति बनाई पारदर्शी रुपमा रकम जम्मा गर्ने र ती रकम बाटो मर्मत गर्नकै लागि प्रयोग गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । उहाँले सडकमा सवारीलाई पैसा नउठाएको बताउनुभए पनि उहाँकै वडा कार्यालय नजिकै सडक छेउमा रकम उठाउने ठाउँ बनाएर खुलमखुला रुपमा सवारी लामबद्ध राखेर रसिद काद्दै रकम असुल गरिरहेको छ ।

त्यतै गरी ट्रिपरलाई रकम उठाई मर्मतमा खर्च गर्ने भनिएको फर्सिडोल–बुंगमती सडकमा नगरको बजेट समेत परेको वडा अध्यक्षले बताउनुभयो । उक्त सडकमा यस वर्ष मर्मतसम्भार शीर्षकमा २५ लाख रुपियाँ बजेट नगरले छुट्ट्याइएको जानकारी दिनुभयो । जबकि उक्त सडक मर्मतकै लागि अहिलेसम्म ट्रिपरबाट ३८ लाखको हारहारीमा रकम उठाइसकेको जानकारी वडाअध्यक्ष शाक्यले नै दिनुभयो ।

स्थानीय, प्रदेश र संघको स्वीकृतिविना यसरी कुनै सवारीसाधन र वस्तुमाथि कर उठाउन पाइँदैन र मिल्दैन । जिल्ला प्रशासन कार्यालय, ललितपुर प्रमुख प्रेमराज जोशीले बुंगमतीमा यसरी रकम उठाइरहेको विषय थाहा नभएको र बुझेर कारबाही प्रक्रियामा जाने प्रतिक्रिया दिनुभयो ।

बुंगमतीको बाटो भई गोदावरी नगरपालिका–७, देवीचौर र वडा ८ डुकुछापबाट ढुंगा र बालुवाको मालबाहक सवारीसाधन दैनिक तीन सयको हारहारीमा गुड्छन् । सडक मर्मत गर्ने भनेर सयौँ सवारीसाधनलाई रकम उठाए पनि अहिलेसम्म पनि त्यो सडक मर्मत तथा पानी राख्ने कामसमेत भएको छैन । सडकको अवस्था गुज्रिएको छ । खाल्डाखुल्डी र धूलो यस सडकको पछिल्लो विशेषता भएको छ ।  यो समाचार आजको नेपाल समाचारपत्रमा सुरेश तामाङले लेखेका छन् ।