अब चितवन मैं कलेजो प्रत्यारोपण हुने गर्न मिल्ने


चितवन । अब चितवन मैं कलेजो प्रत्यारोपण हुने भएको छ । चितवनका दुईवटा निजी मेडिकल कलेजले कलेजो प्रत्यारोपण गर्ने लाइसेन्स पाएसँगै जिल्लामा कलेजो प्रत्यारोपण गर्न सम्भव हुने भएको हो । स्वास्थ्य सेवा विभाग अंगप्रत्यारोपण समन्वय समितिको सचिवालयका अनुसार कलेजो प्रत्यारोपण गर्ने अनुमति पत्र (लाइसेन्स) पाउनेहरुमा कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ हस्पिटल भरतपुर र चितवन मेडिकल कलेज टिचिङ हस्पिटल भरतपुर रहेका छन् । यी दुबै कलेजले यसअघि मिर्गौला प्रत्यारोपणको लाइसेन्स समेत पाइसकेका छन् । गत १६ बैशाखमा बसेको अंग प्रत्यारोपण समन्वय समितिको बैठकले यी दुई मेडिकल कलेजलाई कलेजो प्रत्यारोपण गर्ने लाइसेन्स दिएको हो । यो संगै नेपालमा कलेजो प्रत्यारोपण गर्ने संस्था चार पुगेको छ । यसअघि भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले पाइसकेका छन् । भक्तपुरस्थित राष्ट्रिय प्रत्यारोपण केन्द्रले कलेजोको सफल प्रत्यारोपण गरिसकेको छ । अंग प्रत्यारोपण समन्वय समितिका सदस्य सचिव एवं विभागका महानिर्देशक डा गुणराज लोहनीले कलेजो प्रत्यारोपण गर्न पाउ भन्दै दिएको दरखास्त उपर जाँचबुझ तथा स्थलगत अनुगमन प्रतिवेदनका आधारमा लाइसेन्स दिने निर्णय गरेको बताए । उनले जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधारको हिसावमा सक्षम रहेको पाएपछि लाइसेन्स दिइएको स्पष्ट पारे ।