इन्डो-प्यासिफिक रणनीति बुझाउँन अमेरिकी अधिकारी नेपालमा सक्रिय

वैशाख ३१, काठमाडौं । इन्डो प्यासिफिक कमान्ड र रणनीतिबारे थप प्रस्ट पार्न अमेरिकी अधिकारी नेपालमा सक्रिय भएका छन्। इन्डो प्यासिफिक रणनीतिबारे द्विविधा हुन थालेपछि अमेरिकी विदेश मन्त्रालयले विभिन्न स्तरका अधिकारीलाई नेपाल पठाएर जानकारी गराउन थालेको हो। अमेरिकाको इन्डो प्यासिफिक क्षेत्र, कमान्ड र रणनीतिबारे नेपालमा आमबुझाइ फरक छ।

नेपालजस्तो भूराजनीतिक महत्व रहेको मुलुकमा यसबारे स्पष्ट हुनुपर्ने धारणा अमेरिकाको छ। इन्डो प्यासिफिक रणनीतिका सम्बन्धमा राजदूत र्‍यान्डी बेरीले विभिन्न टेलिभिजन तथा पत्रिकामा अन्तर्वार्ता दिँदै आएका छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक अमेरिका भ्रमण, त्यहाँ भएको सहमति र अमेरिकी विदेश मन्त्रालयको ट्विटपछि इन्डो प्यासिफिक रणनीतिबारे नेपालमा निकै चासो बढेको छ।

पछिल्लो समय नेपालमा चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० र अमेरिकाको इन्डो प्यासिफिक रणनीतिबारे चासो बढेको छ। यस क्षेत्रमा अमेरिकी चासो पहिलेदेखि नै हो।

उदीयमान चीन अमेरिकालाई उछिन्न प्रयत्नरत छ। यो मारमा नेपाल जस्तो भूराजनीति महत्व रहेको मुलुक पर्ने नै छ। त्यसमा ध्यान दिएर अघि बढ्न आवश्यक रहेको धारणा परराष्ट्र अधिकारीहरूको छ। यस्ता विषयमा परराष्ट्रले खासै ध्यान दिन नसकेको आरोप छ।

यतिबेला नेपालमा रहेका दक्षिण एसिया मामिलासम्बन्धी अमेरिकी विदेश उपसहायक मन्त्री डेभिड जे रेन्जले विभिन्न व्यक्तिसँग अन्तरक्रिया गरिरहेका छन्। उनी विशेष गरी इन्डो प्यासिफिक रणनीति र प्रभावबारे जानकारी दिने उद्देश्यले नेपाल आएको कूटनीति अधिकारीले बताए।

रेन्ज इन्डो प्यासिफिक रणनीतिकै विषयमा छलफल गर्न नेपाल आएको अमेरिकी दूतावासले स्पष्ट पारेको छ। यसअघि अमेरिकाको इन्डो प्यासिफिक कमान्डका प्रमुख नेपाल आएर यही रणनीतिका विषयमा छलफल गरेका थिए।

नेपाल र अमेरिका मात्र होइन दर्जन बढी मुलुकसहित पोखरामा विपत् व्यवस्थापनको सैन्य अभ्यास हुँदैछ। यसको संयोजन नेपाल र अमेरिकाको इन्डो प्यासिफिक कमान्डको युनिटले गर्नेछन्। अमेरिका नेपाललाई पनि यो क्षेत्रमा सँगै लिएर हिँड्न खोजेको छ। अमेरिकाको नेपालमा अर्को चासो भनेको उत्तर कोरियालीले यहाँ कुनै ‘साइबर ह्याक’ मार्फत गर्ने फाइनान्सियल क्राइममाथि छ। नेपालजस्तो मुलुकको प्रविधिलाई जोगाउन शक्ति मुलुक सक्रिय भइरहेको परराष्ट्र अधिकारीहरु स्वीकार गर्छन्।

अमेरिकाले यस क्षेत्रमा अन्य सबै साना मुलुक र नेतृत्व गर्ने भारतसँग सहकार्य गरेर आफ्नो व्यापारिक रणनीति पनि पूरा गर्ने चाहना राखेको अधिकारीहरुले बताए। ओसियन्स, वातावरण र विज्ञान मामिला हेर्ने उपसहाययक मन्त्री एवं बंगलादेशका लागि पूर्वराजदूत मार्सिया बर्निसेन्ट पनि नेपालमै छिन्। उनको भ्रमण पनि कूटनीतिक रहेको परराष्ट्र अधिकारीले बताए। अन्नपूर्णबाट ।