चितवनको कालिकामा पानीको मुहानमै अवैध क्रसर

सयौँ बासिन्दा खानेपानीबाट बञ्चित


चितवन,बैशाख २२/ पानीको मुहान नजिकै क्रसर उद्योग सञ्चालन गर्न संरचना बनाउँदा खानेपानीको मुहान नै सुकेको छ । चितवनको कालिका नगरपालिका वडा नम्बर ८ जुटपानीबजार नजिकै रहेको दुई वटा खानेपानीको मुहानमा क्रसर सञ्चालन हुँदा खानेपानीको हाहाकार भएको हो ।
चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी अध्यक्ष रहेको मनकामना क्रंक्रिट उद्योगले अनुमति नै नलिइ सञ्चालन गरेको क्रसर उद्योगले अवैध उत्खनन र डम्पिङ गर्दा पानीको मुहान सुकेको हो । मुहान सुकेपछि बाँसघारी मझुवा बुलबुले खानेपानी उपभोक्ता समूह र मझुवा बुलबुले खानेपानी उपभोक्ता समूहका उपभोक्ताहरु खानेपानीको समस्यामा परेका हुन् । सो क्रसर उद्योग सञ्चालन गर्ने क्रममा नै खानेपानीको मुहान सुकेपछि गाउँमा पानीको समस्या भएको मझुवा बुलबुले खानेपानी उपभोक्ता समूहका अध्यक्ष ज्ञानु कुमालले बताए ।
सञ्चालन हुन लागेको क्रसर उद्योगको छेउमै कालिका नगरपालिका वडा नं. ६ मा रहेको बाँसघारी मझुवा बुलबुले खानेपानी उपभोक्ता समूह र मझुवा बुलबुले खानेपानी उपभोक्ता समूहको मुहान रहेको छ । मझुवा बुलबुले खानेपानी अन्तरगत कालिका नगरपालिका वडा नम्बर ६ का दुई सय ३० घरधुरीले सो खानेपानी प्रयोग गर्दै आएका छन् । यस संस्था अन्तर्गत २४ वटा धारा रहेको छ । सोही खानेपानी स्थानीय आधारभूत विद्यालय गुराउ चौरका विद्यार्थीहरुले समेत प्रयोग गरिरहेका छन् ।
त्यस्तै, बाँसघारी मझुवा खानेपानी अन्तरगत दुई सय २२ घरधुरी र पृथ्वी माविका विद्यार्थीहरुले पानी खाइरहेका छन् । कालिका नगरपालिका वडा नम्बर ८ को जुटपानी बजार नजिकैको सो खानेपानी मुहानबाट वि.संं. २०६० सालदेखि उनीहरुले खानेपानी खाँदै आएका थिए । पानीको मुहान नजिकै क्रसर उद्योग सञ्चालनको लागि भवनको जग खन्ने क्रममै खानेपानीको मुहान सुकेपछि गाउँमा पानीको हाहाकार नै भएको छ ।
मनकामना क्रंक्रिट उद्योग नाममको संस्था मार्फत दर्ता विना क्रसर उद्योग सञ्चालन गर्न लागेको गाउँलेहरुको आरोप छ । करिब १५ कठ्ठा क्षेत्रफलमा फैलिएको सो उद्योगको डम्पिङको बालुवा गिट्टी ढुङ्गा र भवनको जग हेर्दा क्रसर उद्योग नै सञ्चालन गर्न लागेको कालिका नगरपालिका वडा नम्बर ८ का अध्यक्ष इमप्रसाद अधिकारीले सञ्चारपत्र दैनिकलाई जानकारी दिए । ‘ब्लक उद्योग राख्ने भनेका कारण मैले अनुमति दिएको हुँ’ अधिकारीले भने, –‘आसपासमा रहेका स्थानीयको मञ्जुरी लिएका कारण स्वीकृति दिएको हो ।’ उनीहरुले क्रसर राख्ने विषयमा भने आफू अनविज्ञ रहेको अधिकारीको भनाइ छ । स्थानीयका अनुसार वडाअध्यक्षलाई समेत झुक्काएर क्रसर उद्योग सञ्चालकहरुले डम्पिङको काम गरेका थिए । पानीको हाहाकार मच्चिएपछि सो क्षेत्रमा क्रसर उद्योग सञ्चालनका लागि रोक लगाइएको कालिका वडा नं. ६का अध्यक्ष विनोद रेग्मीले बताए । पहिला जनतालाई पानीको व्यवस्था हुनुपर्ने र त्यसपछि मात्र क्रसर उद्योगको संरचनाको काम अगाडि बढ्ने गरी आफूले पहल गरेको अध्यक्ष रेग्मीले बताए ।
क्रसरका लागि भवनको जग खनेपछि धारामा १ हप्तादेखि पानी नआएको र गाउँलेहरुले दुःख पाएको रेग्मीले बताए । २०६१ सालदेखि उपभोग गर्दै आएको पानी अहिले एक्कासी बन्द हुँदा उपभोक्ता मारमा परेको उल्लेख गर्दै रेग्मीले खानेपानीको मुहान नै सुक्नेगरी काम हुनु दुखको कुरा भएको बताए । उनले क्रसर उद्योगका विषयमा छानविन हुने र दोषीमाथी कारबाही हुने प्रतिवद्धता जनाए ।
धाराहरुमा भने १ हप्तादेखि पानी नआएपछि नजिकैको मन्दिरमा भएको इनारको पानी मोटरले तानेर गाउँलेहरुले खान बाध्य भएका छन् । क्रसर उद्योग बनाउनेहरुले नजिकै मुहान रहेको खानेपानी उभोक्ता समितिलाई जानकारी नै नदिएर संरचना बनाएको उपभोक्ताको आरोप छ । राजनीतिक रुपमा क्रसर उद्योगमा पहुँचवालाहरुको संलग्नता रहेकोले उनीहरुले पानीको मुहानको बारेमा खुलेर बोल्ने आँट गर्न नसकेको स्थानीयहरु बताउँछन् ।
क्रसर उद्योगमा ठूला राजनीतिक दलका पहुँचवाला व्यक्तिहरुको लगानी रहेको छ । क्रसर उद्योगमा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीसहित बलराम शर्मा खनाल, परशुराम घिमिरे, शिव थापा, प्रह्लाद सापकोटा, गुणराज दवाडी, पूर्णबहादुर अम्गाईँ, एकेश भण्डारी र राजेन्द्र ढुंगानाको लगानी रहेको छ । उद्योग सञ्चालक राजेन्द्र ढुंगानाले तत्काल क्रसर उद्योग सञ्चालन नभइ डम्पिङ मात्रै गरिरहेका बताए ।
उनले भने, –‘कयर खोलामा साथीहरुले ठेक्का पर्नुभएको छ, त्यही ढुङ्गा गिट्टी यहाँ ल्याएर डम्पिङ गरौँ भन्ने सोंच बनाएको हो ।’ ढुंगानाले अगाडि थपे, –‘पानी सुक्छ भन्ने अनुमान नै भएन ।’ क्रसर सञ्चालकहरुले खानेपानीको अर्को विकल्प खोजेर उपभोक्तालाई नगरपालिकाको अनुरोधमा बोरिङ खनिदिने सहमति भएको कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठले बताए । उनले पानीको मुहान नजिकै खन्नै नहुने ठाउँमा खनेका कारण समस्या आएको जानकारी दिए ।
उद्योग सञ्चालकहरुले खानेपानीको मुहान छ भन्ने नभएर गल्ती भएको बताउँदै बोरिङ खनिदिने आश्वासन दिएको श्रेष्ठले बताए । २०५९ सालमा फनबोर्ड नेपालको सहयोगमा स्थानीयको आर्थिक र श्रमदानबाट सञ्चालनमा आएको हो । कालिका नगरपालिका वडा नं. ६, ७ र १ खानेपानीका लागि समस्याग्रस्त क्षेत्र समेत हुन् । यी वडाका वडावासीहरु अहिले पनि स्वच्छ खानेपानी खान नपाएर समस्यामा परिरहेका छन् । सञ्चारपत्रबाट