एभरेष्टद्धारा वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई खाना र फलफूल


भरतपुर महानगरपालिका वडा नम्बर ३ लायन्सचोकमा रहेको एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले देवघाटको वृद्धाश्रममा खाना खुवाउनुका साथै फलफूल वितरण गरेको छ । आइतबार संस्थाले आफ्नो संस्थापक अध्यक्ष रविमान श्रेष्ठको पाँचौँ वार्षिक पूण्यतिथिको अवसर पारेर देवघाट क्षेत्र विकास समितिद्वारा सञ्चालन गरिएको देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई खाना खुवाएको हो । एभरेष्ट साकोसले श्रेष्ठको पूण्य तिथिमा वर्षेनि वृद्धाश्रममा खाना खुवाउँदै आइरहेको साकोसका अध्यक्ष बालगोपाल चुकेले जानकारी दिए । वृद्धाश्रममा रहेका १२ जना पुरुष तथा १८ जना महिला ज्येष्ठ नागरिकहरुलाई एक दिनको खाना खुवाउनुका साथै फलफूल वितरण गरिएको चुकेले बताए । एभरेष्ट साकोसका अध्यक्ष चुकेले एक दिनको खान खुवाएर वृद्धाश्रमका लागि १५ हजार रुपैयाँ प्रदान गरेका देवघाट क्षेत्र विकास समितिका लेखापाल ढकराज कोइरालाले बताए । सो आश्रममा विभिन्न व्यक्ति तथा संस्थाहरुले पितृहरुको सम्झनामा तथा जन्म दिन, वर्षिकोत्सवलगायतका अवसरमा खाना खुवाउने गरेका छन् । आश्रममा एक दिनको सादा खानाको पाँच हजार रुपैयाँ तथा एक छाक खानाको तीन हजार रुपैयाँ लिने गरिएको छ । त्यस्तै, पनिर खानाको ६ हजार रुपैयाँ तिर्नुपर्ने ढकालले बताए । विभिन्न व्यक्ति तथा संस्थाहरुको सहयोगबाट नै वृद्धाश्रम सञ्चालन हुँदै आइरहेको छ ।