सञ्चारमन्त्रीका लागि ६८ यात्रु छाड्न सकेनौं : बुद्ध एयर

वैशाख ४, काठमाडौं । मौसम खराबीका कारण सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भैरहवाबाट काठमाडौँ उडान छुटेको बुद्ध एयरले स्पष्ट पारेको छ ।

सञ्चारमन्त्री छुटेको समाचार सञ्चार माध्यममा छाएपछि बुद्ध एयरले हिजो विज्ञप्ति निकालेर ६८ यात्रुको संवेदनशिलतालाई मध्यनजर गर्दै उडान रोक्न नसकिएको जनाएको छ ।

काठमाडौं–भैरहवाको उडान नं ८५७, उडान समय साँझ चार बजेको सट्टा काठमाडौं विमानस्थलको मर्मत र मौसमको खराबीको कारणले सो उडान बेलुका सात बजे भएको र अवतरण सात बजेर ३२ मिनेटमा भएको थियो ।

‘मौसम खराबीको कारण जहाज तुरुन्तै काठमाडौं फर्कनुपर्ने वाध्यता थियो । यदि अर्को ३०–३५ मिनेट कुर्नु परेको भए मौसमका कारण भैरहवामै रात्री विश्राम गर्नुपर्ने अवस्था आउनसक्थ्यो, ६८ यात्रुलाई असुविधाका साथै आर्थिक व्ययभार पनि बेहोर्नु पथ्र्यो ।

सुरक्षित र सकभर समयमै उडान भर्नु हाम्रो पहिलो दायित्व हो’, विज्ञप्तिमा भनिएको छ । राजधानीबाट ।