नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) अवैध उत्खनन र दोहनमा जनप्रतिनिधिहरु नैं सक्रिय

काठमाडौं । राजनीति सेवा हो, स्वयमसेवी कर्म भन्ने मान्यता स्खलित हुँदै अवैध धन्दामा रुपान्तरण हुँदै गएको अनुभूत हुन थालेको छ । जसको हातमा डाडु पन्यु त्यसैले आफ्नो भागमा मात्र पार्ने काम गरिरहेको छ । देशैभरिका अधिकांश ठाउँका स्थानीय जनप्रतिनिधिहरु प्राकृतिक स्रोतको अवैध उत्खनन र दोहनमा सक्रिय रहेको तथ्य पत्ता लागेको छ । यसपटक प्रदेश नम्बर दुई र तीनमा निर्माण कार्यका लागि प्रयोग हुने नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) मा स्थानीय तहका पदाधिकारीले गरेका केही प्रतिनिधि घटनाको खुलासा गरिएको छ । 

तोकिएको मापदण्ड विपरीत स्काभेटर नदीमै लैजाने, नदीको धार परिवर्तन गर्ने, क्षमता भन्दा बढी लोड गर्ने, कर छली गर्ने कार्य यहाँ तीब्र ढंगले भएको छ । तराईका कतिपय जिल्लाबाट अवैध रुपमा भारतमा चोरी निकासी भइरहेको समाचार प्राप्त भएको छ । 

प्रदेश नं २ मा पर्ने सिरहाको वरियारपट्टी गाउँपालिका–१ स्थित नर्गी भन्ने स्थानमा सोही ठाउँका अशोककुमार यादव, सोही गाउँपालिका–३ का हरिनारायण यादव, रामबालक यादव, विनोद महतो, चन्द्रेश्वर यादवले दिउँसो वालुवा–गिट्टी संकलन गर्ने र रातिको समयमा भारतको मधुवनी जिल्लाको लदनिया बस्ने मदन मिश्रा तथा सीमा क्षेत्रका सुरक्षाकर्मीको मिलेमतोमा मधुवनीको पिपराहीतर्फ निर्यात गर्ने गरेको तथ्य फेला परेको छ ।   

त्यस्तै सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका भएर बग्ने त्रियुगा नदीमा सो नगरपालिकाले वीरेन्द्र माझी सञ्चालक रहेको माझी निर्माण सेवालाई उत्खनन गर्ने ठेक्का दिइएकोमा मापदण्ड विपरीत उत्खनन कार्य भइरहेको छ । सप्तकोशी नगरपालिकाका अमाहा खोला, मलेठ, गंगाजली खोला लगायतमा सप्तकोशी नगरपालिका–२ का सोनेलाल चौधरी, सोही नगरपालिका–११ का केदार मण्डल, हरेराम खड्का, डोलेश्वर खड्का लगायतले अवैध उत्खनन गरिरहेका छन् ।

यस्तै सोही नगरपालिकाकाका वडा १ का अध्यक्ष नारायणप्रसाद आचार्यको ट्याक्टर अवैध रुपमा बालुवा संकलन गरी घर जाने क्रममा हालै नियन्त्रणमा लिइएको र निज वडा अध्यक्ष विरुद्ध डिभिजन वन कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ ।

सो क्षेत्रमा वालुवा चोरी निकासी गर्ने ट्याक्टरहरुले वन कार्यालयका कर्मचारी मुसरु यादव, कोशी टप्पु मध्यवर्ती क्षेत्रका अध्यक्ष वीरेन्द्र यादवलाई आर्थिक रुपमा प्रभाव पार्ने गरेको स्रोतले बताएको छ ।

बलानविहुल गाउँपालिका –५ का वडा अध्यक्ष विन्देश्वर यादव, सोही गापा–४ का आशाराम साह, भुटुन यादव, मजिद मियाँ, नसिव यादव, सोही गापा–३ का घनश्याम साह लगायतका व्यक्तिहरु नेपालबाट अवैध रुपमा बालुुवा भारततर्फ तस्कर गर्ने कार्यमा सक्रिय रहेको बताइन्छ ।

बारा जिल्ला सिम्रनगढ नपा–८ कचोर्वाका वडा अध्यक्ष तथा क्रसर संचालक दामोदर जैसवाल, मुकेश कुमार यादव, विनय यादव लगायतले ट्याक्टरमार्फत सिम्रनगढ नपा– ९, बसबरिया नाकाबाट नदीजन्य पदार्थ भारतको विहारमा पर्ने घोडासहन पठाउने गरेको स्थानीयहरु बताउँछन् ।

रौतहट जिल्लाको गुजरा नपा–५ हरिहरपुरस्थित लालबकैया र गुजरा नदी, चन्द्रपुर नपा–३ स्थित हिले खोला र ड्याङडुङे खोला, गढिमाई नपा–१ स्थित वागमती नदी, बृन्दावन नपा–१ हर्दियाघाट लगायत क्षेत्रमा स्थानीय गैडाटार, चन्द्रपुर नपा–३ का पपुधामी, बत्तीटोल चन्द्रपु्र नपा–६ का सहदेव केसी, जुडीबेला वन टोलका सुमन केसी, सोही ठाउँका अर्जुन सुवेदी, गुजरा नपा–४ का चुनचुन जयसवाल, जंगलसैयाका कुमार चौलागाई पनि अवैध कार्यमा संलग्न भइरहेको स्रोत बताउँछ ।  

पर्सा जिल्लाको पोखरिया नपाको टिउकी, बुडगाईं, धोबिनी गापाको मिर्जापुर, जयमंगलापुर लगायत स्थानबाट नदीजन्य पदार्थ भित्र्याउने गरेको पाइएको छ । बारा र मकावनपुरसँग पनि कनेक्सन मिलाएर ट्याक्टर, ट्रलीमार्फत भारततर्फ निकासी हुने गरेको छ । सो अवैध कार्यमा छिपरमाई गापाका मुमताज मियाँ, धोविनी गापा–४ का प्रदीप कुर्मी, सोही ठाउँका सागर मियाँ, वडा–३ का समसुतक तेली, अशोक कुर्मी लगायत सक्रिय छन् । सीमा नाकामा खटिएका प्रहरी इन्चार्जलाई प्रति ट्याक्टरको एक हजार पाँच सयका दरले बुझाउने गरेको समाचार स्रोतले बताएको छ । 

जिराभवानी गापा र पटेर्वा सुगौली सिमानामा पर्ने जमुनिया खोला र भलुयाई खोलाको नदीजन्य पदार्थ उत्खनन सम्बन्धमा दुवै गापाबीच प्रमुख जिल्ला अधिकारीको रोहबरमा निमियामाई कस्ट्रक्सन सञ्चालक अशोक साह तेलीलाई चार महिनाको लागि रु एक करोड पचास लाख ठेक्का दिई सो रकम दुवै गापाले आधा आधा लिने समझदारी भइसकेको अवस्थामा जगरनाथपुर गापाका अध्यक्ष जालिम मिया मन्सुरीले केही रकम कमिशन दिएमा निमियामाई कस्ट्रसनलाई एक करोड ११ लाखमा ठेक्का मिलाइ दिने भनी सो कस्ट्रक्सन संचालकलाई भड्काउनुका साथै स्थानीय प्रशासन र दुवै गापालाई दवाव दिइरहेको बताइएको छ ।  

छिपहरमाई गापा–१ मिर्जापुर टोलका व्यासप्रसाद यादव, राजेश यादव, सुरेन्द्र यादव, अमरेश यादव, पानालाल साह, भारततर्फ गिट्टी, ढुङ्गा, वालुवा लाने कुरामा संलग्न रहेको खबर प्राप्त भएको छ । 

त्यस्तै प्रदेश नं ३ को सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकास्थित सुनकोशी नदीबाट नदीजन्य पदार्थ उत्खनन गर्ने ठेक्का पाएका तीन पिप्ले निर्माण सेवा र राजेन्द्र जोशी सप्लायर्सले वातावरणीय प्रभाव मूल्याकंन प्रतिवेदनको विपरीत स्काभेटर प्रयोग गरी करिब दुई मिटर गहिराईसम्म उत्खनन गरेको समाचारमा जनाइएको छ ।

धादिङ जिल्लाको गजुरी गापा–८ वेनीघाट, रोराङ गापा सिमानामा रहेको मलेखु ताल्दी खोलामा संचालनमा रहेको मलेखु निर्माण सामग्री संचालक प्रविण के.सी., संयोग रोडा उद्योग संचालक फणिन्द्र सिलवाल, मलेखु एग्रिगेट क्रसर उद्योगले मापदण्ड विपरीत खोलाको बगरमै क्रसर संचालन गरेको खबर प्राप्त भएको छ ।

सोही जिल्लाको गल्छी गापा–६ स्थित गापाका अध्यक्षका छोरा सुरेन्द्र श्रेष्ठले संचालनमा ल्याएको एस.के.बी. कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.ले मापदण्ड विपरीत अधिक गहिराईसम्म बालुवा उत्खनन गरिरहेको समाचार प्राप्त भएको छ ।
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाले स्थानीय गणेश लामालाई सुनकोशी नदीमा बालुवाखानी संचालन गर्न अनुमति दिएपश्चात सो गापाका सुख्खाग्रस्थ क्षेत्रमा खानेपानी उपलब्ध गराउने प्रयोजनमा निर्माण गरिएका इनारमा असर परेर पानी संकलन हुन नसक्दा त्यस क्षेत्रमा खानेपानीको समस्या देखिएको छ । 

काभ्रेपलान्चोक जिल्लाको स्याण्ड वासिङ उद्योग प्रा.लि. (मण्डन देउपुर–नपा–९) एस.एस. रोडा ढुङ्गा उद्योग प्रा.लि. (वेथान चोक गापा–४), ओम सत्य साई स्टोन क्रसर उद्योग प्रा.लि. रोसी गापा–७, पशुपति रोडा ढुङ्गा प्रा.लि. (नमोवुद्ध नपा–४), ब्लुसाइन रोडा ढुङ्गा उद्योग प्रा.लि. (नमोबुद्ध नपा–६) काठमाडौं रोडा ढुङ्गा उद्योग प्रा.लि.(पनौती नपा–२) लाई मापदण्ड विपरीत संचालन गरेकाले जिल्ला समन्वय समितिद्वारा बन्द गर्न पत्राचार गरे पनि अहिलेसम्म बन्द भएको छैन ।  

जिल्ला समन्वय समितिका अध्यक्ष उद्धव केसीले यसबारेमा प्रदेश कार्यालयमा फागुन १५ गते औपचारिक रुपमा जानकारी गराइसकेकाले कार्वाहीको कार्यविधिको पर्खाइमा आफूहरु रहेको बताए । 

यसबारेमा प्रहरीलाई कार्वाहीका लागि पत्राचार गरिएको भए पनि शान्ति सुव्यवस्थामा आफूहरु लागेको भन्दै तत्काल कार्वाही गर्न नसकेको भन्दै प्रहरीबाट जवाफ आएको उनले बताए । 

कतिपय सञ्चालकहरुले कीर्ते कागजपत्र बनाएर सञ्चालन गरेको पाइएको हुनाले उनीहरुलाई मुलुकी देवानी संहिताअनुसार कार्वाहीको प्रक्रिया अगाडि बढाउन आफूहरुले पहल लिएको पनि बताए । 

मकवानपुर जिल्लामा संचालनमा रहेको हेटौंडा सिमेन्ट उद्योगले सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने चुनढुङ्गा उत्खननका लागि मकवानपुर गढी गापा –५ स्थित मझुवामा चुनढुङ्गा उत्खनन गर्दा सो क्षेत्रका करिव दुई सय घर धुरीको वस्ती जोखिममा परेको जनगुनासो रहेको छ ।  

सिन्धुपाल्चोक इन्द्रावती र सुनकोशी नदी किनारमा नियम विपरीत क्रसर उद्योगहरु संचालन भएका छन् । ती क्रसर उद्योगले मापदण्ड विपरीत पाँच मिटर गहिराईसम्म उत्खनन गरिरहेको जनाइएको छ ।  

क्रसर उद्योगहरुमध्ये मेलम्ची नपा–१३ मा रहेको इन्द्रावती स्टोन प्रा.लि.का संचालक रवि श्रेष्ठ र गंगा इन्द्रावती क्रसर उद्योग प्रा.लि.का संचालक रामहरी थापाले सार्वजनिक जग्गामा क्रसर संचालन गरी नियम विपरीत उत्खनन गरेको स्थानीयको जनगुनासो रहेको छ । 

क्रसर उद्योगले चिसो र पानी चुहिने बालुवा विक्री वितरण गर्न नपाउने व्यवस्था विपरीत ट्रिपरहरु सडकमा चलाउँदा मेलम्ची–जिरो किलो सडक खण्ड क्षतिग्रस्त भएको छ । 

काठमाडौं जिल्ला कागेश्वरी–मनोहरा नपा–७ स्थित बिस्ट गाउँ नजिक गोकर्णेश्वर नपा–६ निवासी नारायण कुमार पुडासैनी समेतको समूहले केही समय अघि जग्गा व्यवस्थापनको सर्तसहित लिएको स्वीकृति विपरीत निजी जग्गामा जथाभावी बालुवा उत्खनन गर्नुका साथै परिमाण अनुसार कर दस्तुर समेत नबुझाएको खबर प्राप्त भएको छ । 

त्यस्तै गोकणेश्वर नगरपालिकास्थित सुन्ताखानमा स्थानीय राजकुमार श्रेष्ठले गैर कानुनी रुपमा बालुवा वासिङ मेशिन संचालनमा ल्याएको र राज्यलाई कर पनि नबुझाएको स्थानीयको गुनासो छ । समयबद्ध साप्ताहिकबाट