प्रधानमन्त्री ओली आक्रामक : सिट्टी फुक्दैमा जनता नकुद्ने !

विपक्षीलाई ‘नन्दीभृंगी’को उपमा

काठमाडौं /प्रधानमन्त्री केपी ओलीले विपक्षीलाई ‘नन्दीभृंगी’ को संज्ञा दिँदै आन्दोलन नगर्न सुझाएका छन्। नयाँ वर्षको पहिलो दिन आइतबार ‘ज्येष्ठ नागरिक स्वास्थ्य बिमा तथा खोलौं बैंक खाता अभियान’ शुभारम्भ गर्दै प्रधानमन्त्रीले कसैले आन्दोलन भनेर सिट्टी फुक्दैमा जनता नकुद्ने दाबी पनि गरे।

११ विद्यार्थी संगठनद्वारा शुक्रबार आयोजित कार्यक्रममा सरकारले हरेक क्षेत्रमा हस्तक्षेप गरेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले आन्दोलन आह्वान गरेका थिए। ‘अस्तिका दिन पनि १३ वटा विभिन्न आकार प्रकारका नन्दीभृंगी भेला भएछन् र आन्दोलन गर्छौं भनेछन्। म अरू केही भन्दिनँ, नगर्नुस् मात्र भन्छु,’ विपक्षी दलतर्फ लक्ष्य गर्दै ओलीले प्रश्न सोधे, ‘जसले आन्दोलन भनेर सिठी फुक्छ, त्यसैको पछि कुद्छन् नेपाली जनता ? के यो सम्भव छ ? ’

उनले स्थिरता, विकास र शान्तिका लागि जनताले मतदान गरेको भन्दै सोहीअनुसार सरकार बनेको बताए। ‘सरकारले देशका निम्ति काम गरेको छ। वृद्धवृद्धाको छेउमा सरकार ढाल्ने कुरा नगर्नुहोला। ढुंगा हान्छन्, परपर भन्नुस्। केटाकेटीले सुन्ने गरेर पनि नभन्नुहोला’, ओलीले चेतावनी दिँदै भने।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य बिमा बोर्ड, नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एसोसिएसनले संयुक्त रूपमा यो अभियान सुरु गरेका हुन्। अभियान क्रममा सरकारले प्रिमियम तिर्ने गरी ज्येष्ठ नागरिकका लागि एक लाख रुपैयाँसम्मको स्वास्थ्य बिमासमेत घोषणा गरिएको छ।

‘दुई झरी पानीले भिज्दा पनि केही नहुने बैंसका मान्छेलाई बिमाको त्यति आवश्यक नहोला तर लौरो टेकेर हिँड्नेलाई बिमा र बैंक अत्यावश्यक छ’, प्रधानमन्त्री ओलीले भने। उनले मानवअधिकारको नारा पिट्नेहरूले यस्ता काम नदेख्ने भन्दै मानवअधिकारवादीप्रति पनि कटाक्ष गरे। ‘मानवअधिकारको मापन गर्न फेद टुप्पो नभएको फित्ता लिएर हिँडिरहेका छन्। मानवअधिकारको उच्च आधार मानवीय र सामाजिक भावना हो। सरकार यसमा स्पष्ट छ। सरकार मानिस जन्मेदेखि मृत्युदेखिका आवश्यक कुरा उपलब्ध गराउन लाग्नेछ,’ उनले भने।

कार्यक्रममा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्यको अधिकार जीवनको अधिकार भएको भन्दै आधारभूत मानवअधिकार पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए। अर्थमन्त्री डा।युवराज खतिवडाले सबै नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गराउने नीति रहेको बताउँदै ७० वर्षमाथिका ज्येष्ठ नागरिक र गरिबीको रेखामुनि रहेका विपन्न नागरिकलाई सहयोग हुने प्रतिबद्धता पनि जनाए।

‘भ्रष्टाचार नियन्त्रण गर्न समय लाग्छ’

प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार नियन्त्रण गर्न लामै समय लाग्ने बताएका छन्। भ्रष्टाचारविरुद्धको लडाइँ चुनौतीपूर्ण रहेको भन्दै प्रधानमन्त्रीले जतिसुकै लामो समय लिए पनि भ्रष्टाचार उन्मूलन गरेरै छाड्ने बताए। नयाँ वर्ष २०७६ को उपलक्ष्यमा देशवासीलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले जुनसुकै मूल्य चुकाएर भए पनि राज्यको सम्पत्तिमाथि अनधिकृत दोहनलाई सरकारले छुट नदिने स्पष्ट पारे। ‘राज्यको सम्पत्तिमाथि अनधिकृत दोहनलाई सरकारले छुट दिने छैन। ती कार्यको परिणामबाट परेको सकारात्मक असर सार्वजनिक भएकै छ। भ्रष्टाचार विरुद्धको लडाइँ चुनौतीपूर्ण छ। यसले लामै समय लिन्छ’, प्रधानमन्त्रीले भने। अन्नपुर्ण पोष्टबाट ।