नारायणी अस्पतालमा अनियमितता र ब्रम्हलुट

१३ गुणा बढी मूल्यमा औषधि खरिद

वीरगन्ज/सप्लायर्सले सस्तोमा ठेक्का सकार गरे पनि नारायणी अस्पतालले आफूलाई चाहिने हाइड्रोजन परअक्साइड बजारबाट करिब १३ गुणा बढी मूल्यमा खरिद गरेको छ । चालु आर्थिक वर्ष २०७५/०७६ लाई चाहिने उक्त औषधि महेश मेडिसिन सप्लायर्सले ६५ रुपैयाँमा आपूर्ति गर्ने ठेक्का सकार गरेको थियो । अस्पतालको स्टोर शाखाले भने ९ सय ४ रुपैयाँमा बजारबाट खरिद गरेको छ ।

मृगौलाको डायलिसिसमा हाइड्रोजन परअक्साइड केमिकल्स प्रयोग गरिन्छ । नारायणी अस्पतालमा ५ वटा डायलिसिस मेसिन सञ्चालनमा छन् । अस्पताल प्रशासनले भने औषधि आपूर्तिको ठेक्का सकार गर्ने ठेकेदारले आपूर्ति नगरेकाले बाहिरबाट खरिद गर्नुपरेको जनाएको छ । ठेक्का पार्न सप्लायर्सले महँगो औषधि सस्तोमा सकार गरेको अस्पतालको दाबी छ । ठेक्का परेपछि अन्य औषधि आपूर्ति गरिरहे पनि हाइड्रोजन परअक्साइड भने आपूर्ति गरेको छैन ।

औषधि व्यवसायीका अनुसार हाइड्रोजन परअक्साइको बजार मूल्य करिब ६ सय रुपैयाँ पर्छ । ६ सय रुपैयाँमा पाइने हाइड्रोजन परअक्साइड अस्पतालको स्टोर शाखाले मूल्य अभिवृद्धि करबाहेक ९ सय चार रुपैयाँमा खरिद गरिरहेको छ । स्टोर शाखाको गत असोज २३ गतेको खरिद आदेशमा ६० बोतल हाइड्रोजन परअक्साइड ९ सय चार रुपैयाँका दरले मूल्य अभिवृद्धि करसहित ६१ हजार २ सय ३१ रुपैयाँमा वीरगन्जको न्यु साइन्स इम्पोरियमबाट खरिद गरेको अभिलेख छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा।एनामुल हकले औषधि आपूर्तिको ठेक्का पाएका व्यवसायीले हाइड्रोजन परअक्साइड उपलब्ध नगराएपछि खरिद गर्नुपरेको बताए । औषधि सप्लाई नगरेपछि बाहिरबाट खरिद गर्नुपरेको हो, उनले भने, हामी सप्लायर्सको बैंक ग्यारेन्टीबाट रकम कट्टा गर्छौं । बजार मूल्यभन्दा ३ सय रुपैयाँ बढीमा हाइड्रोजन परअक्साइड खरिद भइरहेको प्रश्नमा मेसुले आफूलाई जानकारी नभएको बताए । रेटबारे मलाई जानकारी छैन्,उनले भने, के भएको रहेछ म हेर्छु । आजको कान्तिपुरबाट