महालेखाको प्रतिवेदन : वाइडबडीबाट डेढ अर्ब नोक्सान, चिनियाँ जहाजबाट ६० करोड घाटा

चैत्र ३०, काठमाडौं । नेपाल वायुसेवा निगमले वाइडबडी जहाजबाट ठूलो रकम आर्थिक नोक्सनी भोगेको छ भने आन्तरिक उडान गर्ने चिनियाँ जहाजबाट करोडौं घाटा व्यहोर्नु परेको छ।

अन्तर्राष्ट्रिय उडान गर्ने दुइटा वाइडबडी जहाजबाट ६ महिनामा १ अर्ब ६६ करोड आर्थिक नोक्सानी भएको छ। त्यसैगरी चिनियाँ जहाजबाट ६० करोड घाटा भएको महालेखा परीक्षकको ५६ औं बार्षिक प्रतिवेदनले देखाएको हो।

२०७५ सालमा खरिद गरेका दुइटा वाइडबडी जहाज लक्ष्य अनुसार उडान भर्न नसक्दा निगमले आर्थिक घाटा भोग्नु परेको प्रतिवेदनमा उल्लेख छ। निगमले तयार गरेको व्यवसायिक योजना अनुसार उडान नगर्दा ६ महिनामै डेढ अर्ब बढी नोक्सानी भएको प्रतिवेदनमा देखिन्छ।

विमान खरिद प्रक्रिया सुरु गरेपछि निगमले ८ असोज २०७३ मा व्यवसायिक योजना तयार गरेको थियो। योजनामा दमाम, सोल, सिड्नी, टोकियो र हङकङमा उडान गर्ने उल्लेख छ। तर, सोही योजना अनुसार जहाजलाई निगमले उडाउन नसक्दा आर्थिक नोक्सानी चुलिँदोक्रममा छ।

गन्तव्य टुंगो लगाएर पनि लक्ष्यअनुरुप उडान गर्न नसक्दा २०७५ साउनदेखि पुससम्म ६ महिनाको अवधिमा १ अर्ब ६६ करोड ३१ लाख अनुमानित नोक्सानी हुन गएको महालेखाको प्रतिवेदनले देखाएको हो। अघिल्लो वर्षको प्रतिवेदनमा पनि वाइडबडी खरिद गर्दा अनियमितता भएको महालेखाले नै औंल्याएको थियो। सोही अनुसार संसदीय समितिले छानविन गर्दा ४ अर्ब ३५ करोड अनियमितता भएको देखायो। हाल वाइडबडी जहाजको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ।

महालेखाको वार्षिक प्रतिवेदनअनुसार पुस ३० भित्र तिर्नुपर्ने साँवा र ब्याजको किस्ता ८० करोड ४२ लाख रुपैयाँ समेत निगमले तिर्न सकेको छैन। निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट २३ करोड ६१ लाख ऋण लिएको थियो। ‘जहाजलाई थप उडाउन नसकेमा नोक्सानी अझै बढ्ने स्थिति रहेको प्रतिवेदनमा छ।

त्यसैगरी आन्तरिक उडान गर्ने चीनबाट खरिद गरिएका ६ वटा चिनियाँ जहाजले पनि निगमलाई आर्थिक भार थपेका छन्। महालेखाको ५६औं वार्षिक प्रतिवेदनमा चिनियाँ जहाजबाट एक वर्षमै ६० करोड ६१ लाख भन्दा बढी घाटा भएको देखाएको छ। निगमले अघिल्लो प्रतिवेदनमै जहाजले घाटा गराउने भएकाले ठोस कार्ययोजना बनाइ लागू गर्न निर्देशन दिएको थियो। तर, निगमले उक्त निर्देशनलाई कार्यान्वयन नगर्दा घाटा बढेको निष्र्कष छ।

हाल चीनबाट ल्याइएका दुई एमए६० जहाज मध्ये एउटा सञ्चालन छ। यो जहाजले सुगमका क्षेत्रमा उडान भर्दै आएको छ। त्यसैगरी दुर्गमका क्षेत्रमा उडान भर्न ल्याएको ४ वाई१२ जहाजमध्ये एउटा मात्रै सञ्चालनमा छ। विविध कारण देखाएर निगमले जहाजलाई थन्काएर राख्दै आएको छ।

एमए६० जहाजबाट यसवर्ष २० करोड ६४ लाख सञ्चालन आम्दानी भएकोमा विमानसँग सम्बन्धित सञ्चालन खर्च ३१ करोड ३ लाख र अप्रत्यक्ष खर्च २१ करोड २५ लाख घटाउँदा ३१ करोड ६४ लाख खुद घाटा रहेको प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी वाई१२ई जहाजबाट यसवर्ष २ करोड ५१ लाख १२ हजार सञ्चालन आम्दानी भएकोमा विमानसँग सम्बन्धित सञ्चालन १८ करोड ८५ लाख र अप्रत्यक्ष खर्च ९ करोड ६३ लाख घटाउँदा २८ करोड ९७ लाख खुद घाटा रहेको प्रतिवेदनमा उल्लेख छ। नागरिकबाट ।